Números 14

NPIONCB vs AAI

1 त्यस रात इस्राएली समुदायका सबै मानिसहरू ठूलो सोरमा कराउँदै जोरसँग रोए।

2 सबै इस्राएलीहरूले मोशा र हारूनको विरुद्धमा गनगन गर्न थाले। अनि सारा समुदायले तिनीहरूलाई भने, “यदि हामी इजिप्टमै मरेका भए अथवा यही उजाडस्थानमै मरेका भए बरु असल हुनेथियो!”

3 याहवेहले हामीलाई किन यस देशमा तरवारद्वारा मारिनका निम्ति ल्याउँदै हुनुहुन्छ? हाम्रा पत्नीहरू र बालबच्‍चाहरू लुटको मालजस्तै लगिनेछन्। के हामीलाई इजिप्टमै फर्किजानु असल हुँदैन र?

4 अनि तिनीहरूले एक-आपसमा भने, “हामी एउटा अगुवा चुनौँ, र इजिप्टमा फर्केर जाऔँ।”

5 तब मोशा र हारून त्यहाँ भेला भएका इस्राएलीहरूका सारा समुदायको अगाडि भुइँमा घोप्टो परे।

6 ती मानिसहरूसँग कनान देशको बारेमा जासुसी गर्न जाने नूनका छोरा यहोशू र यपून्‍नेका छोरा कालेबले पनि आफ्ना लुगा च्याते।

7 अनि सारा इस्राएली समुदायलाई कालेब र यहोशूले भने, “हामीले गएर जासुसी गरेको देश अति उत्तम छ।

8 यदि याहवेह हामीसँग प्रसन्‍न हुनुभयो भने उहाँले हामीलाई त्यो देश, दूध र मह बग्ने देशमा पुर्‍याउनुहुने छ, र त्यो देश हामीलाई दिनुहुनेछ।

9 तर याहवेहको विरुद्धमा विद्रोहचाहिँ नगर। अनि त्यस देशका मानिसहरूसँग नडराओ; किनकि हामी तिनीहरूलाई सजिलै हराउनेछौँ। तिनीहरूलाई सुरक्षा दिने कोही छैन। तर हामीहरूसँग याहवेह हुनुहुन्छ। त्यसैले तिनीहरूसँग नडराओ।”

10 तर सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हिर्काएर मार्ने सल्‍लाह गरे। तब याहवेहको महिमा भेट हुने पालमा सबै इस्राएलीहरूकहाँ देखा पर्‍यो।

11 याहवेहले मोशालाई भन्‍नुभयो, “यी मानिसहरूले कहिलेसम्म मेरो अनादर गरिरहन्छन्? मैले तिनीहरूको बीचमा गरेका सबै अलौकिक चिन्हहरू देखेर पनि तिनीहरूले ममाथि कहिलेसम्म विश्‍वास गर्न इन्कार गर्छन्?

12 म तिनीहरूलाई महामारीले प्रहार गर्नेछु र नाश पार्नेछु। तर तँलाईचाहिँ तिनीहरूभन्दा महान् र शक्तिशाली जाति बनाउनेछु।”

13 मोशाले याहवेहलाई भने, “इजिप्टियनहरूले यो कुरा सुने भने के भन्लान्? तिनीहरूका बीचबाट आफ्नो शक्तिद्वारा यिनीहरूलाई तपाईंले नै ल्याउनुभएको हो।

14 अनि तिनीहरूले यो देशका बासिन्दाहरूलाई यो कुरा बताउनेछन्। तपाईं याहवेह यिनीहरूका बीचमा हुनुहुन्छ। तपाईं यिनीहरूसँग आमने-सामने नै देखा पर्नुभएको छ। अनि तपाईंको बादल यिनीहरूमाथि रहन्छ। अनि दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोमा भएर तपाईं यिनीहरूका अगि-अगि जानुहुन्छ भनेर तिनीहरूले सुनिसकेका छन्।

15 यदि तपाईंले यी मानिसहरूलाई एउटै पनि जीवित नराखी नाश गर्नुभयो भने तपाईंको ख्याति सुन्‍ने जातिहरूले भन्‍नेछन्,

16 ‘याहवेहले शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा यी मानिसहरूलाई ल्याउन सक्नुभएन। त्यसैले उहाँले तिनीहरूलाई उजाडस्थानमा मारिदिनुभयो।’

17 “अब तपाईंले घोषणा गर्नुभएझैँ प्रभुको शक्ति प्रदर्शन गर्नुहोस्:

18 याहवेह रिस गर्नमा ढिलो, प्रेममा भरपूर, पाप र विद्रोह क्षमा गर्नुहुने हुनुहुन्छ। तरै पनि उहाँले दोषीलाई दण्ड नदिई छोड्नुहुन्‍न। उहाँले आमाबुबाका पापका दण्ड तिनीहरूका सन्तानहरूमाथि तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ।

19 तपाईंको महान् प्रेमअनुसार यिनीहरूले इजिप्ट छोडेर आएदेखि अहिलेसम्म जसरी तपाईंले क्षमा दिनुभएको छ, त्यसरी नै यी मानिसहरूका पाप क्षमा गरिदिनुहोस्!”

20 याहवेहले मोशालाई जवाफ दिनुभयो, “तेरो बिन्तीअनुसार मैले तिनीहरूलाई क्षमा दिएको छु।

21 तरै पनि म जीवित भएझैँ र याहवेहको महिमाले सम्पूर्ण पृथ्वी ढाकिएझैँ,

22 मेरो महिमा अनि मैले इजिप्टमा र उजाडस्थानमा देखाएका अलौकिक चिन्हहरू देखेका छन्। र पनि मेरो आज्ञापालन नगर्ने र मलाई दशपल्टसम्म जाँच गर्ने एकै जनाले पनि

23 अर्थात् तिनीहरूमध्ये एउटैले पनि मैले तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गरेको देशलाई कहिल्यै देख्न पाउनेछैनन्। मलाई अनादर गर्ने कुनै पनि व्यक्तिले त्यस देशलाई कहिल्यै देख्न पाउनेछैन।

24 तर मेरो सेवक कालेबमा अर्कै आत्मा छ, र उसले सम्पूर्ण हृदयले मलाई पछ्याएको छ। यसकारण उसले भेद लिएर आएको देशमा म उसलाई पुर्‍याउनेछु। अनि उसका सन्ततिहरूले त्यस देशमा अधिकार गर्नेछन्।

25 बेँसीहरूमा अमालेकीहरू र कनानीहरू बसोबास गरिरहेका हुनाले भोलि नै तिमीहरू फर्क। अनि लाल समुद्रको बाटो भएर उजाडस्थानतिर लाग।”

26 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो:

27 “यस दुष्‍ट समुदायले कहिलेसम्म मेरो विरुद्धमा गनगन गरिरहन्छ? मैले यी गनगने इस्राएलीहरूको गुनासो सुनेको छु।”

28 यसकारण तिनीहरूलाई भन्, “याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ तिमीहरूले भनेका कुराहरू मैले सुनेको छु। अनि म तिमीहरूसँग त्यसैअनुसार गर्नेछु।

29 तिमीहरूको मृत शरीर यही उजाडस्थानमा छोडिनेछ। जनगणनाको समयमा गनिएका बीस वर्ष अथवा त्योभन्दा माथिका हरेक मेरो विरुद्धमा गनगन गर्नेहरू मर्नेछौ।

30 यपून्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक तिमीहरूमध्ये एउटै पनि मैले शपथ खाएर तिमीहरूलाई दिन लागेको देशमा प्रवेश गर्न पाउनेछैनौ।

31 तिमीहरूका सन्तानहरू, जसको विषयमा तिमीहरूले लुटको मालजस्तै लगिनेछन् भनेका थियौ, म तिनीहरूलाई तिमीहरूले इन्कार गरेका देशमा आनन्द मनाउन ल्याउनेछु।

32 तर तिमीहरू, तिमीहरूका मृत शरीरहरूचाहिँ यही उजाडस्थानमा छोडिनेछन्।

33 तिमीहरूमध्ये अन्तिम मानिसको शरीर उजाडस्थानमा मरेर नगएसम्म तिमीहरूका अविश्‍वासको फलस्वरूप तिमीहरूका सन्तानहरू यही उजाडस्थानमा चालीस वर्षसम्म गोठालो भई डुल्नेछन्।

34 तिमीहरूले त्यस देशको जाजुसी गर्न चालीस दिन बिताएका थियौ, ‘यसकारण एक दिन बराबर एक वर्ष गरी चालीस वर्षसम्म तिमीहरूले आफ्ना अधर्महरूको फल भोग्नुपर्नेछ। अनि मेरो विरुद्ध खडा हुँदा कस्तो परिणाम भोग्नुपर्नेछ भनी थाहा पाउनेछौ।’

35 म याहवेहले नै बोलेको छु। अनि मेरो विरुद्धमा एकसाथ भेला हुने यस दुष्‍ट समुदायलाई म निश्‍चित रूपमा यी कुराहरू गर्नेछु। यही उजाडस्थानमा तिनीहरूको अन्त्य हुनेछ। तिनीहरू यहीँ नाश भएर जानेछन्।”

36 यसरी मोशाले कनान देशको बारेमा जाजुसी गर्न पठाएका मानिसहरू आएर खराब समाचार फैलाएर सारा समुदायलाई मोशाको विरुद्धमा गनगन गर्ने बनाए।

37 ती मानिसहरूले जासुसी गरेर आएको देशको बारेमा खराब समाचार फैलाएका हुनाले याहवेहकै सामु महामारीद्वारा तिनीहरूको मृत्यु भयो।

38 कनान देशको बारेमा जासुसी गर्न जाने मानिसहरूमध्ये नूनका छोरा यहोशू र यपून्‍नेका छोरा कालेब मात्र जीवित रहे।

39 जब मोशाले सारा इस्राएलीहरूलाई यी कुराहरू बताए; तब तिनीहरू अत्यन्तै दुःखी भई विलौना गरे।

40 भोलिपल्ट एकाबिहानै तिनीहरू अग्लो डाँडा भएको ठाउँमा उक्ले, र तिनीहरूले भने, “हामीले पाप गरेका छौँ, तर हामी याहवेहले प्रतिज्ञा गर्नुभएको कनान देशमा जान तयार छौँ!”

41 तर मोशाले तिनीहरूलाई भने, “तिमीहरू याहवेहको आज्ञा किन भङ्ग गर्दैछौ? यो योजना सफल हुनेछैन!

42 तिमीहरू माथि नजाओ; किनभने याहवेह तिमीहरूसँग हुनुहुन्‍न। तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ।

43 त्यहाँ अमालेकीहरू र कनानीहरूले तिमीहरूको सामना गर्नेछन्। किनकि तिमीहरू याहवेहबाट तर्किगएका छौ। उहाँ तिमीहरूसँग हुनुहुनेछैन। अनि तिमीहरू तरवारद्वारा ढालिनेछौ।”

44 तरै पनि तिनीहरू हठी भएर पहाडी मुलुकको टुप्पोमा चढे। तर याहवेहको करारको सन्दुक र मोशा पालबाट अगि बढेनन्।

45 तब त्यस पहाडी मुलुकमा बस्‍ने अमालेकीहरू र कनानीहरू तल ओर्लिआए। अनि तिनीहरूमाथि आक्रमण गरे, र तिनीहरूलाई तल होर्मासम्मै लखेटे।

Ler em outra tradução

Comparar lado a lado