Josué 11

NPIONCB

1 जब हासोरका राजा याबीनले यो सुने, तब तिनले मादोनका राजा योबाब, शिम्रोन र अक्षापका राजाहरूलाई,

2 साथै उत्तरी पहाडहरूमा भएका किन्‍नरेतको दक्षिण अराबामा, पश्‍चिमी फेदीमा र पश्‍चिममा नापोत-डोरमा भएका राजाहरूलाई;

3 पूर्व र पश्‍चिममा कनानीहरू, एमोरीहरू, हित्तीहरू, परिज्जीहरू र पहाडी मुलुकका यबूसीहरू, र मिस्पा इलाकामा हेर्मोनको मुन्तिरका हिव्वीहरूलाई खबर पठाए।

4 तिनीहरू आ-आफ्ना सबै फौजहरूसँग समुद्रको किनारका बालुवासरह गन्‍नै नसकिने गरी घोडाहरू र रथहरूको ठूलो संख्या भएको विशाल सेना लिएर निस्किआए।

5 यी सबै राजाहरूले सेनाहरू लिएर मेरोमको ताल नजिक इस्राएलको विरुद्धमा लडाइँ गर्न एकसाथ छाउनी हाले।

6 याहवेहले यहोशूलाई भन्‍नुभयो, “तिनीहरूसँग नडरा; किनकि भोलि यस बेलासम्ममा म तिनीहरू सबैलाई मारेर इस्राएलको हातमा सुम्पिदिनेछु। तैँले तिनीहरूका घोडाहरूका ढोडनसा काटिदिनू र तिनीहरूका रथहरू जलाइदिनू।”

7 यसकारण यहोशू र तिनका सम्पूर्ण फौजले मेरोमको तालमा अचानक आएर तिनीहरूमाथि आक्रमण गरे।

8 अनि याहवेहले तिनीहरूलाई इस्राएलको हातमा सुम्पिदिनुभयो। तिनीहरूले उनीहरूलाई परास्त गरेर विशाल सीदोनदेखि मिस्रापोत-मैमसम्म, र एउटै पनि जीवित नरहेसम्म पूर्वको मिस्पाको बेँसीसम्म खेदे।

9 याहवेहले निर्देशन दिनुभएअनुसार यहोशूले त्यसै गरे। तिनले तिनीहरूका घोडाहरूका ढोडनसा काटिदिए, र तिनीहरूका रथहरू जलाइदिए।

10 त्यस समयमा यहोशू फर्के, र हासोरलाई कब्जा गरे। अनि त्यसका राजालाई तरवारले मारे। (हासोरचाहिँ यी सबै राज्यहरूको केन्द्र थियो।)

11 तिनीहरूले त्यहाँ भएका हरेकलाई तरवारले मारे। तिनीहरूले सास हुनेजति एउटैलाई नछोडी सबैलाई नष्‍ट गरे। अनि तिनले हासोरलाई पनि जलाइदिए।

12 यहोशूले सम्पूर्ण राजकीय सहरहरू र तिनीहरूका राजाहरूलाई कब्जा गरे। अनि तिनीहरूलाई तरवारले मारे। याहवेहका सेवक मोशाले आज्ञा गरेअनुसार यहोशूले तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गरे।

13 तैपनि इस्राएलीहरूले डाँडामा बनाएका कुनै पनि सहर जलाएनन्। यहोशूले हासोरलाई मात्र जलाए।

14 इस्राएलीहरूले यस सहरहरूका सबै लुटका धनमाल र गाईबस्तु आफ्ना लागि लगे। तर सास फेर्ने एउटैलाई पनि जीवित नराखी सबै मानिसहरूलाई पूर्ण रूपमा तरवारले मारेर नष्‍ट पारे।

15 याहवेहले आफ्ना सेवक मोशालाई आज्ञा गर्नुभएजस्तै मोशाले यहोशूलाई आज्ञा दिएका थिए। अनि यहोशूले त्यही गरे; याहवेहले मोशालाई दिनुभएको आज्ञाहरू एउटै पनि अधुरो नछोडी तिनले सबै पूरा गरे।

16 यसरी यहोशूले सम्पूर्ण देश जिते: पहाडी मुलुक, सम्पूर्ण दक्षिणी भाग, गोशेनको सारा इलाका, पश्‍चिमी डाँडाहरू, अराबा र इस्राएलका पर्वतहरू अनि त्यसका फेदीहरूसमेत,

17 सेइरदेखि माथिको हालाक पर्वतदेखि हेर्मोन पर्वत मुन्तिरको लेबनानमा भएको बेँसीको बाल-गादसम्म तिनले तिनीहरूका सबै राजाहरूलाई पक्रे, र तिनीहरूलाई मारे।

18 यहोशूले यी सबै राजाहरू विरुद्ध लामो समयसम्म युद्ध गरे।

19 गिबोनमा बस्‍ने हिव्वीहरूबाहेक एउटै पनि सहरले इस्राएलसँग शान्तिको सम्झौता गरेनन्। तर इस्राएलीहरूले तिनीहरू सबैलाई लडाइँमा जिते।

20 किनकि याहवेह आफैँले इस्राएलसँग युद्ध गर्न तिनीहरूको हृदय कठोर तुल्याइदिनुभयो, ताकि याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ इस्राएलले तिनीहरूलाई निर्दयतासाथ पूर्ण रूपले नाश गरोस्।

21 त्यस बेला यहोशूले गएर अनाकीहरूलाई पहाडी मुलुकको हेब्रोन, दबीर र अनाब, यहूदाको पहाडी मुलुक अनि इस्राएलका सम्पूर्ण पहाडी मुलुकबाट नष्‍ट गरे। यहोशूले तिनीहरू र तिनीहरूका सहरहरूलाई पूर्ण रूपले नष्‍ट गरे।

22 इस्राएली प्रान्तमा एउटै पनि अनाकी रहेनन्। तर गाजा, गात र अश्दोदमा कोही-कोही मात्र बाँचेका थिए।

23 यसरी याहवेहले मोशालाई निर्देशन दिनुभएझैँ यहोशूले सम्पूर्ण देश कब्जामा लिए। अनि त्यस देशलाई इस्राएलीहरूका कुलको दलअनुसार पैतृक सम्पत्तिको रूपमा तिनीहरूलाई दिए। त्यसपछि देशले युद्धबाट विश्राम पायो।

Ler em outra tradução

Comparar lado a lado