Gênesis 37

NPIONCB

1 याकोब आफ्ना पिता परदेशी बनेर बसेको देश कनानमा बसे।

2 याकोबका वंशको विवरण यही हो।

3 इस्राएलले योसेफलाई आफ्ना अरू छोराहरूभन्दा धेरै माया गर्थे; किनकि तिनी उनको बुढेसकालमा जन्मेका थिए; अनि तिनले उनका लागि एउटा राम्रो बुट्टेदार लबेदा बनाए।

4 तिनका दाजुहरूले आफ्ना पिताले तिनलाई उनीहरूलाई भन्दा धेरै माया गरेको देखेर उनीहरूले तिनलाई घृणा गर्थे, र तिनीसँग नरम भएर बोल्दैनथे।

5 योसेफले एउटा सपना देखे; अनि जब त्यो सपना तिनले आफ्ना दाजुहरूलाई सुनाए, तब उनीहरूले तिनलाई झन् धेरै घृणा गर्न थाले।

6 तिनले उनीहरूलाई भने, “मैले देखेको सपना सुन्‍नुहोस्:

7 हामी खेतमा अन्‍नका बिटाहरू बाँधिरहेका थियौँ; तब अकस्मात् मेरो बिटा उठेर सीधा खडा भयो; अनि तपाईंहरूका बिटाहरू मेरो बिटाका चारैतिर जम्मा भएर मेरो बिटालाई दण्डवत् गरे।”

8 यो सुनेर तिनका दाजुहरूले तिनलाई भने, “के तँ हामीमाथि शासन गर्न खोज्दैछस्? के तैँले साँच्‍चै नै हामीमाथि शासन गर्नेछस्?” अनि त्यो सपना र तिनले भनेका कुराको कारण उनीहरूले तिनलाई झन् धेरै घृणा गरे।

9 त्यसपछि तिनले अर्को सपना देखे, र तिनले त्यो आफ्ना दाजुहरूलाई सुनाए। तिनले भने, “सुन्‍नुहोस्, मैले अर्को सपना देखेको छु; अनि यस पटक सूर्य, चन्द्र र एघार ताराहरूले मलाई दण्डवत् गरिरहेका थिए।”

10 जब तिनले आफ्ना दाजुहरूलाई बताएझैँ त्यो सपना आफ्ना पितालाई पनि बताए; तब तिनका पिताले तिनलाई हप्काउँदै भने, “तैँले देखेको यो सपना कस्तो हो? के तेरी आमा र मैले अनि तेरा दाजुहरूले साँच्‍चै आएर तेरो सामु भुइँसम्मै निहुरेर तँलाई दण्डवत् गर्नुपर्ने हो?”

11 तिनका दाजुहरू तिनीप्रति डाही भए; तर तिनका पिताले चाहिँ यस कुरालाई मनमै राखे।

12 अब तिनका दाजुहरू आफ्ना पिताका बगाल चराउन शेकेमको नजिक गएका थिए।

13 अनि इस्राएलले योसेफलाई भने, “तँलाई थाहै छ कि तेरा दाजुहरू शेकेमको नजिक बगालहरू चराउँदैछन्। आइज, म तँलाई उनीहरूकहाँ पठाउँछु।”

14 यसकारण इस्राएलले तिनलाई भने, “गएर हेर्, तेरा दाजुहरू र बगालहरू ठिक छन् कि छैनन्, अनि मकहाँ खबर लिएर आइज।” तब उनले तिनलाई हेब्रोनको बेँसीबाट पठाइदिए।

15 एक जना मानिसले तिनलाई खेततिर यताउति घुमिरहेका देखे, र सोधे, “तिमी के खोज्दैछौ?”

16 तिनले जवाफ दिए, “म मेरा दाजुहरूलाई खोज्दैछु। उनीहरूले बगाल कहाँ चराउँदैछन्, के तपाईं मलाई भन्‍न सक्नुहुन्छ?”

17 ती मानिसले जवाफ दिए, “उनीहरू यहाँबाट गइसके। उनीहरूले हामी ‘दोतानमा जाऊँ’ भन्दै गरेका मैले सुनेको थिएँ।”

18 तर उनीहरूले तिनलाई टाढैबाट देखे, र तिनी उनीहरूकहाँ आइपुग्नुअगि नै तिनको उनीहरूले हत्या गर्ने षड्यन्त्र रचे।

19 उनीहरूले आपसमा भने, “त्यो स्वप्नदर्शी आउँदैछ!”

20 “अब आओ, हामी त्यसलाई मारेर एउटा खाडलमा फ्याँकिदिऔँ; अनि एउटा डरलाग्दो जनावरले त्यसलाई खाएछ भनेर भनिदिऔँ। तब त्यसका सपनाहरू के हुँदारहेछन्, हेरौँला।”

21 जब रूबेनले यो कुरा सुने, तब उनले तिनलाई उनीहरूका हातबाट छुटाउने कोसिस गरे। उनले भने, “हामी त्यसको ज्यानचाहिँ नलिऔँ।

22 रक्तपात नगरौँ। बरु त्यसलाई यहाँ मरुभूमिको यस खाडलमा फ्याँकिदिऔँ; तर त्यसमाथि हातचाहिँ नउठाऔँ।” रूबेनले तिनलाई तिनीहरूका हातबाट छुटाएर तिनलाई आफ्ना पिताकहाँ फर्काएर लगिदिनका लागि यसो भनेका थिए।

23 यसकारण जब योसेफ आफ्ना दाजुहरूकहाँ आइपुगे, तब तिनले लगाएका राम्रा बुट्टेदार भएको लामो लबेदा उनीहरूले फुकालेर खोसे।

24 अनि उनीहरूले तिनलाई लगेर एउटा खाडलमा फ्याँकिदिए। त्यो खाडल रित्तो थियो; त्यसभित्र पानी थिएन।

25 जब उनीहरू खान बसे, तब उनीहरूले आँखा उठाएर हेरे; अनि गिलादबाट इश्माएलीहरूका एक दल आइरहेका देखे। तिनीहरूले ऊँटहरूमाथि मसलाहरू, सुगन्धित लेप र मूर्र लादेर इजिप्टमा लाँदैथिए।

26 यहूदाले आफ्ना दाजुभाइहरूलाई भने, “आफ्ना भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा छ र?

27 बरु हामी यसलाई यी इश्माएलीहरूलाई बेचिदिऔँ, र यसमाथि हातचाहिँ नहालौँ; आखिर जे भए तापनि यो हाम्रै भाइ, हाम्रै मासु र रगत हो।” अनि उनका दाजुभाइहरू सहमत भए।

28 यसकारण जब ती मिद्यानी व्यापारीहरू नजिक आइपुगे; तिनका दाजुहरूले योसेफलाई खाडलबाट तानेर माथि निकाले, र तिनलाई चाँदीका बीस शेकेलमा इश्माएलीहरूलाई बेचिदिए; जसले तिनलाई इजिप्टमा लगे।

29 जब रूबेन खाडलमा फर्केर आए, तब योसेफलाई त्यहाँ नदेख्दा उनले आफ्ना वस्त्रहरू च्याते।

30 उनी आफ्ना भाइहरूकहाँ गएर भने, “त्यो केटो त त्यहाँ छैन! अब म के गरूँ?”

31 त्यसपछि उनीहरूले योसेफको लबेदा लिए, र एउटा बाख्रा मारेर त्यो लबेदालाई त्यस रगतमा चोपे।

32 अनि त्यो राम्रो बुट्टेदार भएको लबेदा फर्काएर उनीहरूले आफ्ना पिताकहाँ लगेर भने, “हेर्नुहोस् त, हामीले यो लबेदा भेट्टाएका छौँ; के यो तपाईंको छोराको हो र?”

33 तिनले त्यो चिनेर भने, “यो त मेरै छोराको लबेदा हो! कुनै डरलाग्दो जङ्गली पशुले योसेफलाई खाएछ क्यारे। पक्‍कै पनि त्यसलाई खाएर च्यात्तचुत्त पारेछ!”

34 तब याकोबले आफ्ना वस्त्रहरू च्याते, भाङ्ग्रा ओढे र आफ्नो छोराको लागि धेरै दिनसम्म शोक गरिरहे।

35 तिनका सबै छोराछोरीहरूले तिनलाई सान्त्वना दिन आए; तर तिनले शान्त हुन मानेनन्। तिनले भने, “होइनँ, म मेरो छोराकहाँ चिहानमा नगएसम्म शोक गरिरहनेछु।” यसरी तिनका पिताले तिनका निम्ति बिलौना गरिरहे।

36 यही बीचमा ती मिद्यानीहरूले योसेफलाई इजिप्टमा फारोका अधिकारीहरूमध्ये एक जना अङ्गरक्षकका सेनापति पोतिफरलाई बेचिदिए।

Ler em outra tradução

Comparar lado a lado