Zacarias 6

NPIONCB

1 मैले फेरि मास्तिर हेरेँ, र त्यहाँ मेरो अगि काँसाका दुई वटा पर्वतहरूका बीचबाट चार वटा रथहरू आइरहेका थिए।

2 पहिलो रथका घोडाहरू राता, दोस्रो रथका घोडाहरू काला थिए;

3 तेस्रो रथका सेता र चौथो रथका घोडाहरू टाटे-पाङ्ग्रे थिए। ती सबै शक्तिशाली थिए।

4 मसँग कुरा गरिरहने स्वर्गदूतलाई मैले सोधेँ, “मेरा प्रभु, यी के हुन्?”

5 तब स्वर्गदूतले मलाई जवाफ दिए, “यी स्वर्गका चार आत्माहरू हुन्, जो सारा संसारका प्रभुको उपस्थितिमा उभिरहेका ठाउँबाट बाहिर निस्केर गइरहेका छन्।

6 काला घोडाहरू भएको रथ उत्तर देशतिर गइरहेको छ, सेता घोडाहरू भएको रथ पश्‍चिमतिर, र टाटे-पाङ्ग्रे घोडाहरू भएको रथचाहिँ दक्षिणतिर गइरहेको छ।”

7 ती शक्तिशाली घोडाहरू बाहिर गइसकेपछि तिनीहरू पृथ्वीभरि चारैतिर जानलाई आतुर थिए। अनि तिनले भने, “पृथ्वीभरि चारैतिर जाओ!” यसकारण तिनीहरू पृथ्वीभरि चारैतिर गए।

8 तब स्वर्गदूतले मलाई कराएर भने, “हेर, ती उत्तरी देशतिर जानेहरूले उत्तरको देशमा मेरो क्रोधलाई विश्राम दिएका छन्।”

9 याहवेहको वचन मकहाँ आयो:

10 “बेबिलोनबाट आइपुगेका निर्वासितहरू हेल्दै, तोबियाह र यदायाहबाट सुनचाँदी लिएर त्यही दिन सपन्याहका छोरा योशियाहको घरमा जा।

11 त्यो सुनचाँदी लगेर एउटा मुकुट बना, र यहोसादाकका छोरा प्रधान पुजारी यहोशूको टाउकोमा त्यो लगाइदे।

12 अनि त्यसलाई यसो भन्, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘त्यो मानिस यहाँ छ, जसको नाम हाँगा हो; अनि त्यो आफ्नो ठाउँबाट फैलिएर निस्कनेछ र त्यसले याहवेहको मन्दिर बनाउनेछ।

13 यो त्यही व्यक्ति हो, जसले याहवेहको मन्दिर बनाउनेछ; अनि त्यसले राजकीय पोशाक पहिरिनेछ, र त्यो आफ्नो सिंहासनमा बसेर शासन गर्नेछ। अनि त्यो आफ्नो सिंहासनको एक पुजारी हुनेछ। अनि तिनका दुवै कार्यको बीचमा राम्रो समन्वय हुनेछ।’

14 मुकुटचाहिँ याहवेहको मन्दिरमा सम्झनाको रूपमा हेल्दै, तोबिया, यदायाह र सपन्याहको छोरा हेनलाई दिइनेछ।

15 टाढा-टाढाबाट मानिसहरू आउनेछन्, र याहवेहको मन्दिर बनाउन सहायता गर्नेछन्; अनि सेनाहरूका याहवेहले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले जान्‍नेछौ। अनि यदि तिमीहरूले होसियारीसाथ याहवेह आफ्ना परमेश्‍वरको आज्ञापालन गर्‍यौ भने यो पूरा हुनेछ।”

Ler em outra tradução

Comparar lado a lado