Números 19

NPIONCB

1 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो:

2 “याहवेहले आज्ञा दिनुभएको व्यवस्थाको नियम यही हो: जुवामा कहिल्यै ननारिएको निष्खोट अथवा दागरहित रातो कोरली तँकहाँ ल्याऊन् भनी इस्राएलीहरूलाई भन्।

3 त्यो कोरली पुजारी एलाजारलाई दिनू। त्यसलाई छाउनीबाहिर लगियोस्, र एलाजारको उपस्थितिमा मारियोस्।

4 त्यसपछि पुजारी एलाजारले त्यसबाट केही रगत आफ्नो औँलामा लिएर भेट हुने पालको अगाडि सात चोटि छर्कोस्।

5 एलाजारको सामु त्यो कोरली बाछी अर्थात् त्यसको छाला, मासु, रगत र आन्द्राभुँडी जलाइयोस्।

6 पुजारीले देवदारुका केही काठ, हिसप र रातो ऊन लिएर जलिरहेको कोरलीमाथि फ्याकिदेओस्।

7 त्यसपछि पुजारीले आफ्ना लुगाहरू धोओस्, र आफ्नो शरीर पानीले नुहाओस्। त्यसपछि पुजारी छाउनीभित्र आओस्। तर साँझसम्म भने विधिपूर्वक ऊ अशुद्ध रहनेछ।

8 त्यस कोरलीलाई जलाउने मानिसले पनि आफ्नो लुगा धुनुपर्नेछ, र नुहाउनुपर्नेछ; अनि त्यो पनि साँझसम्म अशुद्ध रहनेछ।

9 “तब एक जना शुद्ध मानिसले चाहिँ त्यस कोरलीको खरानी बटुलोस्। त्यसलाई चाहिँ छाउनीबाहिर विधिपूर्वक शुद्ध भएको ठाउँमा राखोस्। त्यो इस्राएली समुदायले शुद्ध पार्ने पानी तयार गर्दा प्रयोग गर्नका निम्ति राखोस्। त्यो पापबाट शुद्धीकरणको निम्ति हो।

10 कोरलीको खरानी बटुल्ने त्यो मानिसले पनि आफ्नो लुगा धुनुपर्नेछ। अनि त्यो पनि साँझसम्म अशुद्ध रहनेछ। इस्राएलीहरू र तिनीहरूसँग बसोबास गर्ने विदेशीहरू दुवैका निम्ति यो सधैँभरिको लागि एउटा नियम हुनेछ।

11 “कसैले मानिसको लास छोएको छ भने त्यो मानिस सात दिनसम्म अशुद्ध रहनेछ।

12 तिनीहरूले तेस्रो दिन र सातौँ दिनमा आफूलाई पानीले चोख्याऊन्। त्यसपछि तिनीहरू शुद्ध हुनेछन्। तर यदि तिनीहरूले आफूलाई तेस्रो र सातौँ दिनमा पानीले चोख्याएनन् भने तिनीहरू शुद्ध हुनेछैनन्।

13 यदि मरेको मानिसको लास छोएपछि तिनीहरूले आफूलाई चोख्याएनन् भने तिनीहरूले याहवेहको समागम पाललाई अशुद्ध तुल्याउँछन्। तिनीहरूलाई इस्राएली समुदायबाट बहिष्कार गरिनुपर्छ। तिनीहरूमाथि शुद्धीकरणको पानी नछर्किएको कारण तिनीहरू अशुद्ध छन्। तिनीहरूको अशुद्धता तिनीहरूमा नै रहनेछ।

14 “कुनै पनि मानिस पालभित्र मर्‍यो भने यो नियम लागू हुन्छ: त्यस पालभित्र पस्‍ने, र त्यसभित्र हुने जो कोही पनि सात दिनसम्म अशुद्ध हुनेछन्।

15 अनि पालभित्रका ढकनीविनाको हरेक खुल्‍ला भाँडो अशुद्ध हुनेछ।

16 “खुल्‍ला ठाउँमा तरवारद्वारा मारिएको मानिस वा स्वभाविक रूपले मरेको मानिसलाई जसले छुन्छ, अथवा जसले मानिसको हड्डी अथवा चिहानलाई छुन्छ, त्यो मानिस सात दिनसम्म अशुद्ध रहनेछ।

17 “त्यस अशुद्ध व्यक्तिका निम्ति पापबलि जलाइएको शुद्धीकरणको भेटीबाट केही खरानी एउटा कलशमा हाल्नू। अनि त्यस खरानीमा ताजा पानी खन्याउनू।

18 त्यसपछि विधिपूर्वक शुद्ध भएको मानिसले हिसप लिएर त्यसलाई पानीमा चोपेर पाल र त्यसमा भएका सबै सरसामानहरू, र त्यहाँ भएका सबै मानिसहरूमाथि छर्कनू। मानिसको हड्डी वा चिहान अर्थात् मारिएको मानिसलाई वा स्वभाविक रूपले मरेको मानिसलाई छुने व्यक्तिलाई पनि त्यसले छर्कनू।

19 त्यस शुद्ध मानिसले अशुद्ध व्यक्तिहरूलाई तेस्रो र सातौँ दिनमा शुद्ध पानी छर्कोस्। अनि सातौँ दिनमा त्यसले तिनीहरूलाई चोख्याओस्। शुद्ध भइसकेको व्यक्तिले आफ्नो लुगा धुनुपर्छ र पानीले नुहाउनुपर्छ। अनि साँझसम्ममा तिनीहरू शुद्ध हुनेछन्।

20 तर यदि ती अशुद्ध व्यक्तिहरूले आफूलाई चोख्याउँदैनन् भने तिनीहरूलाई समाजबाट बहिष्कार गरिनुपर्छ। किनभने तिनीहरूले याहवेहको पवित्रस्थानलाई अशुद्ध तुल्याएका छन्। तिनीहरूमाथि शुद्धीकरणको पानी नछर्किएको कारण तिनीहरू अशुद्ध रहन्छन्।

21 यो तिनीहरूका निम्ति एउटा सधैँभरिको विधि हो।

22 अशुद्ध व्यक्तिले छोएको जुनसुकै कुरा पनि अशुद्ध हुनेछ। त्यसलाई छुने जोसुकै पनि साँझसम्म अशुद्ध हुनेछ।”

Ler em outra tradução

Comparar lado a lado