Mateus 27

NPIONCB

1 एकाबिहानै सबै मुख्य पुजारीहरू र जनताका प्रधानहरूले येशूलाई मार्ने निर्णय गरे।

2 तिनीहरूले उहाँलाई बाँधेर लगे, र राज्यपाल पिलातसको हातमा सुम्पिदिए।

3 जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डको आज्ञा दिइएको देख्यो, ऊ पछुतोले भरियो। अनि तीस वटा चाँदीका सिक्‍काहरू मुख्य पुजारीहरू र प्रधानहरूलाई फर्काइदियो,

4 अनि भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।”

5 यसकारण यहूदाले त्यो पैसा मन्दिरमा फ्याँकिदियो र बाहिर निस्कियो। तब ऊ टाढा गयो, र झुण्डिएर मर्‍यो।

6 मुख्य पुजारीहरूले ती सिक्‍काहरू टिपेर भने, “यसलाई ढुकुटीमा हाल्न उचित हुँदैन; किनकि यो रगतको मोल हो।”

7 तसर्थ तिनीहरूले त्यस पैसाले परदेशीहरूका लागि गाड्ने ठाउँ भनेर कुमालेको जमिन किन्‍ने निर्णय गरे।

8 यसैकारण आजको दिनसम्म नै यसलाई रगतको जमिन भनिन्छ।

9 तब यर्मिया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो: “तिनीहरूले इस्राएलीहरूद्वारा उहाँको मोल भनेर तोकेका चाँदीका तीस वटा सिक्‍काहरू लिए,

10 अनि प्रभुले मलाई आदेश दिनुभएअनुसार तिनीहरूले त्यसलाई कुमालेको जमिन किन्‍न प्रयोग गरे।”

11 येशू राज्यपालको अगि उभिनुभयो, र राज्यपालले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?”

12 जब उहाँलाई मुख्य पुजारीहरू र प्रधानहरूले दोष लगाए, उहाँले कुनै जवाफ दिनुभएन।

13 तब पिलातसले उहाँलाई सोधे, “तिनीहरूले तिम्रो विरुद्धमा दिएका साक्षीहरू के तिमी सुन्दैनौ?”

14 तर येशूले कुनै पनि अभियोगको जवाफ नदिनुभएको देखेर राज्यपाल अति छक्‍क परे।

15 निस्तार चाडको समयमा भीडले चाहेबमोजिम एक जना कैदीलाई छोडिदिने राज्यपालको चलन थियो।

16 त्यस बेला तिनीहरूसित बारब्बा नाम भएको एक जना कुख्यात कैदी थियो।

17 जब भीड जम्मा भयो, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरूका लागि मैले कसलाई छोडिदिएको चाहन्छौ? बारब्बालाई कि ख्रीष्‍ट भनिने येशूलाई?”

18 किनकि तिनीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भनी तिनलाई थाहा थियो।

19 पिलातस न्याय आसनमाथि बसिरहेका बेला तिनकी पत्नीले तिनलाई यो समाचार पठाइन्: “यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज राति मैले सपनामा तिनको कारण धेरै कष्‍ट भोगेकी छु।”

20 तर मुख्य पुजारीहरू र प्रधानहरूले बारब्बालाई छोड्न र येशूलाई मृत्युदण्ड दिन माग गर्न भीडलाई उक्साए।

21 राज्यपालले सोधे, “दुई जनामा म तिमीहरूका निम्ति कसलाई छोडिदिऊँ भन्‍ने तिमीहरू चाहन्छौ?”

22 पिलातसले सोधे, “त्यसो भए ख्रीष्‍ट भनिने येशूलाई म के गरूँ?”

23 पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?”

24 जब पिलातसले आफ्नो केही सीप नलागेको, बरु अझ खैलाबैला मच्‍चिन सक्ने देखे, तब तिनले पानी लिए, र भीडको सामु आफ्ना हात धुँदै भने, “म यस मानिसको रगतदेखि निर्दोष छु। यसको जिम्मा तिमीहरूकै हो।”

25 सबै जनाले जवाफ दिए, “उसको रगत हामी र हाम्रा सन्तानमाथि परोस्।”

26 तब तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए। तर तिनले येशूलाई कोर्रा लगाउन लगाए, र उहाँलाई क्रूसमा टाँग्नलाई सुम्पिदिए।

27 तब राज्यपालका सिपाहीहरूले येशूलाई प्रेटोरियममा लगे, र सबै पल्टनलाई उहाँको चारैतिर भेला गराए।

28 तिनीहरूले उहाँको वस्त्र फुकालेर सिन्दूरे रङ्गका वस्त्रहरू लगाइदिए।

29 अनि तिनीहरूले काँडाहरू बटारेर एउटा मुकुट बनाए, र उहाँको शिरमा लगाइदिए। तिनीहरूले उहाँको दाहिने हातमा एउटा निगालो राखिदिए; अनि उहाँको अगि घुँडा टेकेर उहाँलाई अपमान गर्दै भने, “यहूदीहरूका राजाको जय!”

30 तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा घरी-घरी हिर्काए।

31 उहाँलाई अपमान गरिसकेपछि तिनीहरूले त्यो वस्त्र फुकालिदिए; र उहाँलाई उहाँकै वस्त्र लगाइदिएपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे।

32 तिनीहरू बाहिर जाँदै गर्दा तिनीहरूले साइरिनीवासी सिमोनलाई भेट्टाए; अनि तिनीहरूले उसलाई क्रूस बोक्न कर लगाए।

33 तिनीहरू गलगथा अर्थात् खप्परे भनिने ठाउँमा आइपुगे।

34 त्यहाँ तिनीहरूले येशूलाई पित्त मिसाइएको दाखमद्य पिउन दिए; तर चाख्नुभएपछि उहाँले त्यो पिउन अस्वीकार गर्नुभयो।

35 तिनीहरूले उहाँलाई क्रूसमा टाँगिसकेपछि उहाँका वस्त्रहरू चिट्ठा हालेर आपसमा बाँडे।

36 अनि तिनीहरू त्यहाँ बसेर उहाँलाई पहरा दिन थाले।

37 उहाँको शिरको मास्तिर तिनीहरूले उहाँको विरुद्धमा लेखिएको यो दोषपत्र टाँगे:

38 त्यति बेला दुई डाँकुहरू पनि उहाँसित क्रूसमा टाँगिएका थिए—एउटा उहाँको दाहिनेपट्टि र अर्कोचाहिँ उहाँको देब्रेपट्टि।

39 त्यस ठाउँबाट भएर हिँड्नेहरूले आफ्ना शिर हल्‍लाउँदै उहाँलाई अपमान गरेर

40 यसो भने, “ए मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने, आफैँलाई बचा! तँ परमेश्‍वरको पुत्र होस् भने क्रूसबाट ओर्लेर तल आइज!”

41 त्यसरी नै मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरूले पनि उहाँको अपमान गरे।

42 तिनीहरूले भने, “यसले अरूलाई त बचायो, तर आफैँलाई चाहिँ बचाउन सक्दैन! यो इस्राएलको राजा हो! अहिले यो क्रूसबाट तल ओर्ली आओस्, तब हामी यसलाई विश्‍वास गर्नेछौँ।

43 यसले परमेश्‍वरमाथि भरोसा राखेको छ। यदि परमेश्‍वरले चाहनुहुन्छ भने उहाँले यसलाई अहिले नै मुक्त गरून्, किनकि यसले ‘म परमेश्‍वरका पुत्र हुँ’ भनेको छ।”

44 यसरी नै उहाँसित क्रूसमा टाँगिने डाँकुहरूले पनि उहाँलाई धेरै अपमान गरे।

45 बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो।

46 दिउँसो तीन बजेतिर येशू ठूलो सोरमा कराउनुभयो, “इली, इली, लामा सबखथनी?” जसको अर्थ हो “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?”

47 त्यहाँ उभिनेहरूमध्ये कतिले जब यो सुने, तब तिनीहरूले भने, “यसले एलियालाई बोलाउँदैछ।”

48 तीमध्ये एक जनाले तुरुन्तै दौडेर गई एउटा स्पन्ज लियो। उसले त्यसलाई सिर्कामा चोपेर एउटा निगालोमा राखेर पिउन भनी येशूलाई दियो।

49 अरूले भने, “अब यिनलाई एकलै छोडिदेओ। हेरौँ कतै एलिया आएर यिनलाई बचाउँछन् कि।”

50 येशू चर्को सोरले फेरि कराउनुभयो; त्यसपछि उहाँले आफ्नो प्राण त्याग्नुभयो।

51 त्यस बेला मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो। पृथ्वी हल्‍लियो अनि चट्टानहरू फुटे।

52 चिहानहरू उघारिए अनि मरेर गएका धेरै पवित्र जनका शरीरहरू जीवित भई उठे।

53 तिनीहरू चिहानबाट बाहिर निस्किआए, र येशू पुनर्जीवित भएपछि तिनीहरू पवित्र सहरमा गए र धेरै मानिसहरूकहाँ देखा परे।

54 जब येशूलाई पहरा दिने त्यो सेनापति र ऊसँग हुने अरूहरूले त्यो भुइँचालो र अरू घटनाहरू देखे, तब तिनीहरू अत्यन्त डराएर भने, “निश्‍चय उहाँ परमेश्‍वरका पुत्र हुनुहुँदोरहेछ!”

55 त्यहाँ धेरै स्त्रीहरू थिए, जसले टाढैबाट हेरिरहेका थिए। तिनीहरू उहाँको खाँचोमा सेवा गर्नलाई गालीलदेखि नै येशूको पछि लागेका थिए।

56 तीमध्ये मरियम मग्दलिनी, याकोब र योसेफकी आमा मरियम र जब्दीका छोराहरूकी आमा थिइन्।

57 साँझ परेपछि अरिमथियाका योसेफ नाम भएका धनी मानिस आए, जो स्वयम् येशूका चेला भएका थिए।

58 तिनले पिलातसकहाँ गएर येशूको लास मागे, र पिलातसले तिनलाई त्यो दिइयोस् भन्‍ने हुकुम गरे।

59 अनि योसेफले लास लगे, र मलमलको सफा लुगाले बेह्रे,

60 अनि आफ्नै नयाँ चिहानमा राखे, जुन चट्टान खोपेर बनाइएको थियो। तिनले चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुड्याइदिएर तिनी गए।

61 त्यहाँ चिहानको सामु मरियम मग्दलिनी र अर्की मरियम बसिरहेका थिए।

62 अर्को दिन, अर्थात् तयारीको दिनको भोलिपल्ट मुख्य पुजारीहरू र फरिसीहरू पिलातसकहाँ गए।

63 तिनीहरूले भने, “हजुर, त्यस ठगले जिउँदो हुँदा ‘म तीन दिनपछि फेरि जीवित भई उठ्नेछु’ भनेको कुरा हामीलाई याद छ।

64 यसकारण तेस्रो दिनसम्म चिहानलाई सुरक्षित राख्ने हुकुम दिनुहोस्। नत्रता त्यसका चेलाहरूले आएर उसको शरीर चोरेर लैजालान्, र मानिसहरूलाई ‘उहाँ जीवित भई उठ्नुभएको छ’ भन्लान्। यो अन्तिम धोकाचाहिँ पहिलोभन्दा अझ खराब हुनेछ।”

65 पिलातसले जवाफ दिए, “केही पहरेदारहरू लैजाओ, र चिहानलाई तिमीहरूले जानेअनुसार सुरक्षित राख।”

66 यसकारण तिनीहरू गए, र ढुङ्गामा छाप लगाएर पहरेदारहरूलाई राखेर चिहानलाई सुरक्षित बनाए।

Ler em outra tradução

Comparar lado a lado