Mateus 14

NPIONCB

1 त्यस बेला देशका एक चौथाइ भागका शासक हेरोदले येशूको विषयमा विवरण सुने।

2 तिनले आफ्ना भारदारहरूलाई भने, “यिनी त बप्‍तिस्मा दिने यूहन्‍ना हुन्; जो मरेकाबाट जीवित भएका छन्। त्यसकारण तिनीद्वारा शक्तिशाली कामहरू भइरहेका छन्।”

3 हेरोदले आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यूहन्‍नालाई पक्रेर बाँधेका थिए; र तिनलाई झ्यालखानामा राखेका थिए।

4 किनकि यूहन्‍नाले तिनलाई यसो भनेका थिए: “तपाईंले तिनलाई राख्नु उचित छैन।”

5 हेरोदले यूहन्‍नालाई मार्न चाहेका थिए, तर तिनी मानिसहरूदेखि डराउँथे। किनकि तिनीहरूले यूहन्‍नालाई एक अगमवक्ता भनी मान्दथे।

6 हेरोदको जन्मदिनमा हेरोदियासकी छोरीले पाहुनाहरूका निम्ति नाचेर हेरोदलाई धेरै खुशी पारी।

7 त्यसले जे मागे पनि दिनेछु भनी शपथ खाएर त्यसलाई वचन दिए।

8 आमाले सिकाएअनुसार त्यसले भनी, “यहाँ मलाई एउटा थालमा बप्‍तिस्मा दिने यूहन्‍नाको शिर दिनुहोस्।”

9 यो सुनेर राजा दुःखित भए, तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उनले त्यस बिन्तीलाई पूरा गरिदिने आज्ञा दिए।

10 झ्यालखानामा यूहन्‍नाको शिर काट्न लगाए।

11 तिनको शिर एउटा थालमा ल्याएर त्यस केटीलाई दिइयो; अनि त्यसले त्यो आफ्नी आमाकहाँ लगी।

12 यूहन्‍नाका चेलाहरू आएर तिनको मृत शरीर लगे, र गाडिदिए अनि गएर तिनीहरूले येशूलाई भनिदिए।

13 जब येशूले यो घटना सुन्‍नुभयो, तब उहाँ डुङ्गामा चढेर त्यस ठाउँबाट सुटुक्‍कै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेर भीडहरू सहरहरूबाट पैदलै उहाँको पछि लागे।

14 जब येशू ओर्लनुभयो, तब उहाँले एउटा ठूलो भीडलाई देख्नुभयो। तिनीहरूप्रति उहाँ दयाले भरिनुभयो, र तिनीहरूका रोगहरूलाई निको पार्नुभयो।

15 साँझ पर्नलाग्दा चेलाहरूले उहाँकहाँ आएर भने, “यो एउटा सुनसान ठाउँ हो, र अबेला हुँदैछ। भीडहरूलाई बिदा गर्नुहोस्, र तिनीहरूले गाउँतिर गएर आफ्ना लागि केही खानेकुरा किनून्।”

16 येशूले जवाफ दिनुभयो, “तिनीहरूलाई जान खाँचो छैन। तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।”

17 तिनीहरूले जवाफ दिए, “यहाँ हामीसित त पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।”

18 उहाँले भन्‍नुभयो, “ती मकहाँ ल्याओ।”

19 अनि उहाँले मानिसहरूलाई हरियो चउरमा बस्‍ने आदेश दिनुभयो। ती पाँच रोटी र दुई माछा लिएर स्वर्गतिर हेरेर उहाँले धन्यवाद दिनुभयो, र रोटी भाँच्नुभयो। तब ती चेलाहरूलाई दिनुभयो, र चेलाहरूले मानिसहरूलाई दिए।

20 तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।

21 खानेहरूको संख्या स्त्रीहरू र केटाकेटीहरूबाहेक पुरुषहरू मात्र लगभग पाँच हजार थिए।

22 येशूले भीडलाई बिदा गर्न लाग्दा चेलाहरूलाई चाहिँ डुङ्गामा चढेर झट्टै आफूभन्दा अगि पारिपट्टि जान लाउनुभयो।

23 उहाँले भीडलाई बिदा गरिसक्नुभएपछि उहाँ एकलै प्रार्थना गर्न एउटा पहाडमा जानुभयो। रात पर्दा उहाँ त्यहाँ एकलै हुनुहुन्थ्यो,

24 तर डुङ्गा जमिनदेखि धेरै टाढा पुगिसकेको थियो, बतास उल्टो बहेकाले छालहरूले त्यसलाई हुत्याउँदैथियो।

25 बिहान तीन बजेतिर येशू समुद्रमाथि हिँड्दै तिनीहरूतिर जानुभयो।

26 जब चेलाहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरू डराए। अनि तिनीहरू, “यो त भूत हो” भनी डरले चिच्याए।

27 तर येशूले तुरुन्तै तिनीहरूलाई भन्‍नुभयो: “साहस गर! म नै हुँ; नडराओ।”

28 पत्रुसले जवाफ दिए, “प्रभु यदि तपाईं नै हुनुहुन्छ भने मलाई तपाईंकहाँ पानीमा आउने आज्ञा दिनुहोस्।”

29 उहाँले भन्‍नुभयो, “आऊ।”

30 तर जब तिनले बतास देखे, तब तिनी डराए, र डुब्न लाग्दा, “प्रभु, मलाई बचाउनुहोस्!” भनेर चिच्याए।

31 येशूले तुरुन्तै आफ्नो हात पसारेर तिनलाई पक्रनुभयो र भन्‍नुभयो, “हे अल्पविश्‍वासी, तिमीले किन शङ्का गर्‍यौ?”

32 अनि जब उहाँहरू डुङ्गामा चढ्नुभयो, बतास शान्त भयो।

33 तब डुङ्गामा हुनेहरूले “साँच्‍चै तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ” भने, र उहाँलाई दण्डवत् गरे।

34 उहाँहरू पारि पुगेपछि गनेसरेतमा ओर्लनुभयो।

35 अनि जब त्यहाँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले छेउछाउका सबै इलाकाहरूमा खबर पठाए। मानिसहरूले आफ्ना सबै रोगीहरू उहाँकहाँ ल्याए।

36 रोगीहरूलाई उहाँको वस्त्रको किनार मात्र भए पनि छुन दिनुहोस् भनी उहाँलाई बिन्ती गरे। जतिले उहाँलाई छोए, तिनीहरू सबै निको भए।

Ler em outra tradução

Comparar lado a lado