Marcos 13

NPIONCB

1 येशू मन्दिर छोडेर जाँदै गर्नुहुँदा उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, हेर्नुहोस्, कति विशाल पत्थरहरू! कति भव्य भवनहरू!”

2 येशूले जवाफ दिनुभयो, “के तिमी यी सबै विशाल भवनहरू देख्दैछौ? यहाँ एउटा ढुङ्गा पनि अर्को ढुङ्गामाथि छोडिनेछैन, तर प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।”

3 येशू जैतुन डाँडामा मन्दिरतिर फर्किएर बसिरहनुहुँदा पत्रुस, याकोब, यूहन्‍ना र अन्द्रियासले उहाँलाई सुटुक्‍क सोधे,

4 “हामीलाई भन्‍नुहोस्, यी कुराहरू कहिले हुनेछन्? अनि यी कुराहरू पूरा हुनको निम्ति चिन्ह के हुनेछ?”

5 येशूले तिनीहरूलाई भन्‍नुभयो: “होसियार बस, ताकि कसैले तिमीहरूलाई धोका नदेओस्।

6 धेरै जना मेरो नाममा ‘म उही हुँ,’ भन्‍ने दाबी गर्दै आउनेछन्, र धेरैलाई धोका दिनेछन्।

7 जब तिमीहरूले लडाइँ र लडाइँहरूका हल्‍लाहरू सुन्‍नेछौ, तब नडराओ। यस्ता कुराहरू हुनैपर्छ, तर अन्त्य आउन बाँकी नै छ।

8 जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा भुइँचालाहरू जानेछन्; अनि अनिकालहरू हुनेछन्। यी त प्रसववेदनाका सुरुवात मात्र हुन्।

9 “तिमीहरू आफ्नो विषयमा होसियार रहो। तिमीहरूलाई स्थानीय सभाहरूमा सुम्पिनेछ, र सभाघरहरूमा लगेर कोर्रा लगाइनेछ। मेरो कारणले गर्दा तिमीहरूलाई साक्षीको रूपमा राज्यपालहरू र राजाहरूको सामु उभाइनेछ।

10 अनि अन्त्य आउनुभन्दा पहिला सबै राष्ट्रहरूमा सुसमाचार प्रचार गरिनुपर्छ।

11 जब तिमीहरू पक्रिएर मुद्दामा पर्नेछौ, तब के बोल्नुपर्छ भनी पहिल्यैबाट चिन्ता नलेओ। तिमीहरूलाई त्यसै बेला जे दिइनेछ, त्यही भन; किनकि त्यस समयमा बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा बोलिरहनुभएको हुनेछ।

12 “भाइले आफ्ना भाइलाई, बुबाले आफ्ना छोराछोरीलाई मृत्युका निम्ति धोका दिनेछन्। छोराछोरीहरू आफ्ना आमाबुबाका विरुद्धमा उठ्नेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्।

13 तिमीहरूलाई सबै मानिसहरूले मेरा निम्ति घृणा गर्नेछन्; तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार गरिनेछ।

14 “जब तिमीहरूले ‘विनाशकारी घृणित कुरा’ जुन ठाउँमा नहुनुपर्ने, त्यहाँ देख्नेछौ—पढ्नेले बुझोस्—तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्।

15 घरका कौसीमा हुनेहरू कोही पनि तल नझरोस्, न त केही थोक लिनलाई घरभित्र पसोस्।

16 खेतमा हुने कोही पनि आफ्नो लुगा लिन फर्केर नजाओस्।

17 ती दिनहरूमा गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि कति डरलाग्दा हुनेछन्।

18 यी कुराहरू हिउँदमा नहोस् भनी प्रार्थना गर!

19 किनकि ती दिनहरू यति कष्‍टदायक हुनेछन् कि; परमेश्‍वरले संसार सृष्‍टि गर्नुभएदेखि अहिलेसम्म न कहिल्यै भएको थियो, न त फेरि कहिल्यै हुनेछ।

20 “यदि प्रभुले ती दिनहरू नघटाइदिनुभएको भए कोही पनि बाँच्ने थिएन। तर चुनिएकाहरूका निम्ति उहाँले ती घटाइदिनुभएको छ।

21 त्यस बेला यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ छन्’ अथवा, ‘हेर तिनी त्यहाँ छन्’ भन्छ भने विश्‍वास नगर।

22 किनकि झूटा ख्रीष्‍टहरू र झूटा अगमवक्ताहरू देखा पर्नेछन्; अनि सम्भव भएसम्म चुनिएकाहरूलाई पनि बहकाउनलाई अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू देखाउनेछन्।

23 यसकारण तिमीहरू होसियार बस; मैले तिमीहरूलाई पहिलेबाट नै सबै कुरा भनिदिएको छु।

24 “तर ती दिनहरूमा, विपत्तिपछि तुरुन्तै,

25 आकाशबाट ताराहरू खस्‍नेछन्,

26 “त्यसपछि मानिसको पुत्रलाई मानिसहरूले महाशक्ति र महिमासित बादलमा आइरहेको देख्नेछन्।

27 अनि उसले आफ्ना दूतहरूलाई आफ्ना चुनिएकाहरूलाई चारै दिशाबाट बटुल्नलाई पठाउनेछ, अर्थात् पृथ्वीको एक कुनादेखि आकाशको अर्को कुनासम्म पठाउनेछ।

28 “अब अञ्जीरको रूखबाट यो पाठ सिक: जब यसका हाँगाहरूमा कलिला पातहरू पलाउन थाल्छन्, ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी तिमीहरूले थाहा पाउँछौ।

29 त्यसरी नै तिमीहरूले जब यी कुराहरू भइरहेका देख्छौ, तब तिमीहरूले यो नजिकै ढोकैमा छ भनी जान।

30 म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्‍चय नै नष्‍ट भएर जानेछैन।

31 आकाश र पृथ्वी नष्‍ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्‍ट हुनेछैनन्।

32 “त्यस दिन र त्यस समयको विषयमा कसैले जान्दैन, न स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र जान्‍नुहुन्छ।

33 होसियार बस! सचेत बस! त्यो समय कहिले आउनेछ, त्यो तिमीहरू जान्दैनौ।

34 यो त बाहिर गएको त्यो मानिसजस्तो हो, जसले आफ्नो घर छोड्नअगि आफ्ना सेवकहरूलाई जिम्मेवारी दिँदै, प्रत्येकलाई आ-आफ्ना काम सुम्पे, र एक जनालाई चाहिँ ढोकामा कुरेर बस्‍न जिम्मा दिए।

35 “यसकारण जागा रहो; किनकि घरका मालिक साँझमा वा मध्यरातमा वा भाले बास्दा वा बिहानै अथवा कुन समयमा आउलान्, त्यो तिमीहरू जान्दैनौ।

36 नत्र तिनी अचानक आइपुग्दा तिनले तिमीहरूलाई सुतिरहेका भेट्टाउलान्।

37 म तिमीहरूलाई जे भन्दछु, त्यो हरेकलाई भन्दछु: ‘जागा रहो!’ ”

Ler em outra tradução

Comparar lado a lado