Josué 5

NPIONCB

1 अनि जब यर्दनको पश्‍चिमतिर भएका एमोरी राजाहरू र भूमध्य सागरको नजिकका सबै कनानी राजाहरूले, हामीले यर्दन पार नगरेसम्म याहवेहले यर्दनलाई इस्राएलीहरूका अगि कसरी सुकाइदिनुभएको थियो भन्‍ने कुरा सुने, तब तिनीहरूको हृदय डरले हतोत्साहित भयो। अनि तिनीहरूमा इस्राएलीहरूको सामना गर्ने साहस नै रहेन।

2 त्यस बेला याहवेहले यहोशूलाई भन्‍नुभयो, “दर्शन-ढुङ्गाका कर्दहरू बनाएर इस्राएलीहरूलाई फेरि खतना गर्।”

3 यसकारण यहोशूले दर्शन-ढुङ्गाका कर्दहरू बनाए। अनि इस्राएलीहरूलाई गिबियथ-हारालोथमा खतना गरे।

4 तिनले खतना गर्नुको कारण यो थियो: इजिप्टबाट निस्किएर आएका लडाइँमा जान सक्ने उमेर भएका सबै मानिसहरू, इजिप्ट छोडेपछि उजाडस्थानको बाटैमा मरिसकेका थिए।

5 इजिप्टबाट निस्किआएका सबै पुरुषहरूका खतना भइसकेको थियो। तर इजिप्टबाट निस्किएर आएपछि उजाडस्थानको यात्रामा जन्मेका सबै मानिसहरूको चाहिँ खतना भएको थिएन।

6 इजिप्ट छोड्दा लडाइँमा जान सक्ने उमेर भएका सबै पुरुषहरूको मृत्यु नभएसम्म इस्राएलीहरू चालीस वर्षसम्म उजाडस्थानमा डुलिरहे। किनकि तिनीहरूले याहवेहको आज्ञापालन गरेका थिएनन्। किनभने तिनीहरूका पितापुर्खाहरूसँग शपथ खाएर दूध र मह बग्ने देश हामीलाई दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देश तिनीहरूले देख्न पाउनेछैनन् भनी उहाँले तिनीहरूसँग शपथ खानुभएको थियो।

7 यसकारण उहाँले तिनीहरूको स्थानमा तिनीहरूका छोराहरूलाई खडा गर्नुभयो र यहोशूले तिनीहरूको खतना गरे। किनकि तिनीहरूलाई यात्राको बेला खतना गरिएको थिएन।

8 अनि सम्पूर्ण पुरुषहरूको खतना भइसकेपछि तिनीहरू निको नभएसम्म आ-आफ्ना छाउनीमै बसे।

9 तब याहवेहले यहोशूलाई भन्‍नुभयो, “आज मैले तिमीहरूबाट इजिप्टको अपमान मेटाइदिएको छु।” यसकारण आजको दिनसम्म नै त्यस ठाउँलाई गिलगाल भनिन्छ।

10 त्यस महिनाको चौधौँ दिनको साँझपख यरीहोको मैदान गिलगालमा छाउनी लगाएको बेला इस्राएलीहरूले निस्तार चाड मनाए।

11 निस्तार चाडको भोलिपल्ट ठिक त्यही दिन तिनीहरूले त्यस कनान देशको उब्जनीबाट खमिर नहालेको रोटी र भुटेको अन्‍न खाए।

12 तिनीहरूले त्यस देशको अन्‍न खाएकै दिनदेखि मन्‍न खस्‍न रोकियो; तब इस्राएलीहरूका निम्ति त्यहाँ मन्‍न थिएन, तर त्यस वर्ष तिनीहरूले कनान देशको उब्जनी खाए।

13 अब यहोशू यरीहोको नजिक हुँदा तिनले माथि हेरे। अनि तिनले आफ्नो सामु एक जना मानिसलाई हातमा नाङ्गो तरवार लिएर उभिरहेका देखे। यहोशू तिनीकहाँ गएर सोधे, “तपाईं हाम्रो पक्षमा हुनुहुन्छ कि हाम्रा शत्रुहरूको पक्षमा हुनुहुन्छ?”

14 तिनले जवाफ दिए, “कसैको पक्षमा पनि होइन। तर म अहिले याहवेहको फौजको सेनापति भएर आएको छु।” तब यहोशू भुइँमा घोप्टो परेर दण्डवत् गर्दै सोधे, “मेरा प्रभु, आफ्नो सेवकका निम्ति के सन्देश छ?”

15 तब याहवेहको फौजका सेनापतिले भने, “तेरो जुत्ता फुकाल्। किनकि तँ उभिएको ठाउँ पवित्र छ।” अनि यहोशूले त्यसै गरे।

Ler em outra tradução

Comparar lado a lado