Jeremias 52

NPIONCB

1 राजा हुँदा सिदकियाह एक्‍काइस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाम हमुतल थियो, जो यर्मियाकी छोरी थिइन्। तिनी लिब्ना निवासी थिइन्।

2 यहोयाकीमले गरेझैँ सिदकियाहले पनि याहवेहको दृष्‍टिमा जे कुरा खराब थियो, त्यही गरे।

3 याहवेहको क्रोधको कारणले नै यरूशलेम र यहूदामा यी सबै हुन आएका थिए। आखिरमा उहाँले तिनीहरूलाई आफ्ना उपस्थितिबाट निकालिदिनुभयो।

4 यसकारण सिदकियाहको शासनकालको नवौँ वर्षको, दशौँ महिनाको दशौँ दिनमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेमको विरुद्धमा आफ्नो सम्पूर्ण सेना लिएर आए। तिनीहरूले सहरको बाहिर छाउनी हाले र त्यसका चारैतिर घेरा-मचान बनाए।

5 राजा सिदकियाहको एघारौँ वर्षसम्म सहर घेराबन्दीमा राखिएको थियो।

6 चौथो महिनाको नवौँ दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्‍यो कि देशका मानिसहरूका निम्ति केही खानेकुरा बाँकी रहेन।

7 तब सहरको पर्खाल भत्काइयो; अनि यरूशलेमका सम्पूर्ण सेनाहरू भागेर गए। बेबिलोनीहरूले सहरलाई घेरेर राखेको भए तापनि तिनीहरूले राजाको बगैँचाको छेउका दुई पर्खालको बीचमा भएको मूलढोकाबाट भएर राति नै सहरलाई छोडेर भागे। तिनीहरू अराबातिर भागे;

8 तर बेबिलोनी सेनाले राजा सिदकियाहलाई खेदे, र तिनलाई यरीहोको मैदानमा फेला पारे। तिनका सबै सेना तिनीबाट अलग भएर छरपस्ट भएका थिए;

9 र तिनी पक्राउ परे।

10 त्यहाँ रिब्लामा बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाको अगाडि मारे; तिनले यहूदाका सबै अधिकारीहरूलाई पनि मारे।

11 त्यसपछि तिनले सिदकियाहका आँखाहरू निकालिदिए; अनि तिनलाई काँसाको साङ्लाले बाँधेर बेबिलोनमा लगे, जहाँ तिनले सिदकियाहको मृत्यु नहोउन्जेलसम्म उनलाई झ्यालखानामा राखे।

12 बेबिलोनका राजा नबूकदनेसरको उन्‍नाइसौँ वर्षको पाँचौँ महिनाको दशौँ दिनमा, राजकीय अङ्गरक्षकहरूका सेनापति नबूजरदान जसले बेबिलोनका राजाको सेवा गर्थे, यरूशलेममा आए।

13 तिनले याहवेहको मन्दिर, राजमहल र यरूशलेमका सबै घरहरूमा आगो लगाइदिए। तिनले प्रत्येक मुख्य भवन जलाइदिए।

14 बेबिलोनका सम्पूर्ण फौजले राजकीय अङ्गरक्षकहरूका सेनापतिको अधीनमा यरूशलेमका चारैतिरका सबै पर्खालहरू भत्काइदिए।

15 अङ्गरक्षकहरूका सेनापति नबूजरदानले केही गरिब मानिसहरू र सहरमा बाँकी रहेकाहरू, साथै सिपालु कारिगरहरू र बेबिलोनका राजाको पछि लाग्ने मानिसहरूलाई कैदी बनाएर निर्वासनमा लगे।

16 तर नबूजरदानले देशमा बाँकी रहेका केही अति गरिब मानिसहरूचाहिँ दाखबारी र खेतबारीहरूमा काम गर्नलाई त्यहीँ छोडिदिए।

17 बेबिलोनीहरूले याहवेहको मन्दिरमा भएका काँसाका खम्बाहरू, ठेलागाडीहरू र काँसाका खड्कुँलो भत्काइदिए, र सबै काँसाचाहिँ तिनीहरूले बेबिलोनमा लगे।

18 तिनीहरूले भाँडाहरू, बेल्चाहरू, सलेदो काट्ने कैँचीहरू, छर्कने बाटाहरू, थाल बटुकाहरू र मन्दिरको सेवामा प्रयोग गरिने काँसाका सबै सरसामग्रीहरू लगे।

19 राजकीय अङ्गरक्षकका सेनापतिले बाटाहरू, धूपदानीहरू, छर्कने बाटाहरू, भाँडाहरू, सामदानहरू, थाल बटुकाहरू र अर्घबलिको निम्ति प्रयोग गरिने बाटाहरू—निखुर सुन र चाँदीले बनिएका सबै सामग्रीहरू तिनीहरूले लगे।

20 ती दुई स्तम्भहरू, खड्कुँलो र त्यसका मुन्तिर भएका काँसाका बाह्र वटा साँढेहरू र याहवेहको मन्दिरको निम्ति सोलोमन राजाले बनाएका गुड्ने आधारहरूबाट जम्मा गरिएका काँसाहरू जसको वजन जोखेर जोख्न नसकिने थिए।

21 प्रत्येक स्तम्भ अठार क्यूबिट अग्लो र त्यसको गोलाइ बाह्र क्यूबिटको थियो। प्रत्येक खम्बा चार अङ्गुल बाक्लो मोटाइ र त्यो बीचमा खोक्रो थियो।

22 एउटा खम्बाको टुप्पोमा भएको काँसाको टुप्पो पाँच क्यूबिट अग्लो थियो। अनि चारैतिर काँसाका जाली र दारिमको बुट्टाले वरिपरि सिँगारिएको थियो। अर्को खम्बा पनि त्यस्तै दारिम बुट्टाले सजिएको थियो।

23 त्यस खम्बाको छेउ-छेउमा छयानब्बे वटा दारिमको बुट्टाहरू थिए; चारैतिरका जालीमाथि भएका दारिमका बुट्टाहरूको संख्या एक सय थियो।

24 अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह र दोस्रो दर्जाका पुजारी सपन्याह र तीन जना पहरेदारहरूलाई पनि कैद गरेर लगे।

25 सहरमा अझ रहेकाहरूमध्ये तिनले लडाकु मानिसहरूका अधिकृत र सात जना राजकीय सल्‍लाहकारहरूलाई पनि लगे। तिनले देशका मानिसहरूलाई सेनामा तयार गर्ने प्रमुख अधिकारी प्रधान सचिवसहित, सहरमा भेट्टाइएका साठी जना मानिसहरूलाई पनि लगे।

26 सेनापति नबूजरदानले तिनीहरू सबैलाई लगे, र बेबिलोनका राजाकहाँ रिब्लामा ल्याए।

27 त्यहाँ हमात देशको रिब्लामा राजाले तिनीहरूलाई मारे।

28 नबूकदनेसरले निर्वासनमा लगेका मानिसहरूको संख्या यही हो:

29 नबूकदनेसरको शासनकालको अठारौँ वर्षमा यरूशलेमबाट

30 तिनको शासनकालको तेईसौँ वर्षमा,

31 यहूदाका राजा यहोयाकीनलाई निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा, एबील-मरोदक बेबिलोनको राजा भएको वर्षमा तिनले बाह्रौँ महिनाको पच्‍चीसौँ दिनमा यहूदाका राजा यहोयाकीनलाई निकाले र झ्यालखानाबाट मुक्त गरिदिए।

32 तिनले उनीसित दयापूर्वक कुरा गरे, र आफूसित बेबिलोनमा भएका अरू राजाहरूभन्दा माथिल्‍लो दर्जाको सम्मानको आसन दिए।

33 यसकारण यहोयाकीनले आफ्ना कैदका वस्त्रहरू उतारे, र आफ्नो जीवनकालभरि नै राजाका टेबुलमा खाए।

34 बेबिलोनका राजाले यहोयाकीनको जीवनकालभरि तिनको मृत्यु नहुन्जेल दिन प्रतिदिन नियमित भत्ता दिए।

Ler em outra tradução

Comparar lado a lado