Gênesis 7

NPIONCB

1 तब याहवेहले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सम्पूर्ण परिवार जहाजभित्र जा; किनकि मैले तँलाई यस पुस्तामा धर्मी पाएको छु।

2 तँसित हरेक प्रकारका शुद्ध पशुबाट भाले र पोथी गरेर सात जोडी, अशुद्ध पशुबाट भाले र पोथी गरेर एक जोडी लिनू;

3 अनि हरेक प्रकारका चराचुरुङ्गीबाट सात जोडी भाले र पोथी गरी लिनू, ताकि तिनीहरूका विभिन्‍न जातिहरू पृथ्वीभरि जीवित रहून्।

4 अबको सात दिनमा म पृथ्वीमा चालीस दिन र चालीस रात पानी बर्साउनेछु; अनि म पृथ्वीबाट मैले बनाएको प्रत्येक जीवित प्राणीको नामनिशानै मेटिदिनेछु।”

5 अनि नोआले याहवेहले तिनलाई आज्ञा गर्नुभएअनुसार सबै गरे।

6 पृथ्वीमा जलप्रलय हुँदा नोआ छ सय वर्षका थिए।

7 अनि जलप्रलयको पानीबाट बाँच्नका निम्ति नोआ अनि तिनका छोराहरू, तिनकी पत्नी र तिनका बुहारीहरू जहाजभित्र पसे।

8 साथमा शुद्ध र अशुद्ध पशुहरू, चराचुरुङ्गी अनि जमिनमा चलहल गर्ने सबै प्राणीहरूका जोडीहरू,

9 अर्थात् भाले र पोथी गरी परमेश्‍वरले आज्ञा गर्नुभएझैँ नोआसँगै जहाजभित्र पसे।

10 अनि सात दिनपछि पृथ्वीमा जलप्रलय भयो।

11 नोआको जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा पृथ्वीका सबै गहिरा मूलहरू फुटे, र आकाशका पानीका बाँधहरू खोलिए।

12 अनि पृथ्वीमा चालीस दिन र चालीस रात पानी परिरह्‍यो।

13 त्यसै दिन नोआ र तिनका छोराहरू शेम, हाम अनि येपेत, तिनकी पत्नी र तिनका तीन बुहारीहरू जहाजभित्र पसे।

14 तिनीहरूसित आ-आफ्नै प्रकारका प्रत्येक जङ्गली जनावर, आ-आफ्नै प्रकारका सबै घरपालुवा पशु, आ-आफ्नै प्रकारका जमिनमा घस्रने प्राणी र पखेटा भएका आ-आफ्नै प्रकारका पक्षी थिए।

15 जीवनको सास हुने सबै प्राणीहरूका जोडी-जोडी गरी नोआकहाँ जहाजमा आए।

16 भित्र पसेका प्राणीहरूमध्ये परमेश्‍वरले नोआलाई आज्ञा गर्नुभएअनुसार प्रत्येक जीवित प्राणीका भाले र पोथी थिए। तिनीहरू भित्र पसेपछि याहवेहले ढोका थुनिदिनुभयो।

17 चालीस दिनसम्म पृथ्वीमा जलप्रलय भइरह्‍यो; अनि जब पानी बढ्दैगयो, तब त्यसले जहाजलाई पृथ्वीमाथि उचाल्दै लग्यो।

18 पानी बढ्दै गएर पृथ्वी भरिन थाल्यो, र जहाजचाहिँ पानीको सतहमाथि तैरिन थाल्यो।

19 पृथ्वीमा पानी झन्-झन् बढ्दैगयो, र आकाशमुनि भएका सबै अग्ला-अग्ला पर्वतहरू डुबे।

20 पानी बढेर पर्वतहरूभन्दा 15 क्यूबिट माथिसम्म पुग्यो।

21 पृथ्वीमा चलहल गर्ने प्रत्येक जीवित प्राणी—चराचुरुङ्गी, घरपालुवा पशु, जङ्गली जनावर, पृथ्वीमा हुल बाँधेर हिँड्ने हरेक प्रकारका जीवजन्तुहरू र सारा मानिस जातिहरू नष्‍ट भए।

22 ओबानो भूमिमा भएका नाकमा जीवनको सास हुनेहरू सबै थोक नष्‍ट भए।

23 पृथ्वीमा भएका प्रत्येक जीवित प्राणी; हरेक मानिस, पशु, जमिनमा चलहल गर्ने प्राणी र आकाशका चराहरू सबैको पृथ्वीबाट नामनिशानै मेटियो। नोआ र तिनीसित जहाजभित्र भएकाहरू मात्र जीवित रहे।

24 पृथ्वी एक सय पचास दिनसम्म जलमग्न भइरह्‍यो।

Ler em outra tradução

Comparar lado a lado