Êxodo 34

NPIONCB

1 याहवेहले मोशालाई भन्‍नुभयो, “पहिलेको जस्तै ढुङ्गाका दुई वटा पाटीहरू काट्, र म तिनीहरूमा तैँले फुटाएको पहिलो पाटीहरूमा भएकै शब्दहरू लेखिदिनेछु।

2 बिहान तयार भएर सीनै पर्वतमा उक्लिआइज। पर्वतको टाकुरामा आफूलाई मकहाँ हाजिर गर्।

3 पर्वतमा तँसित कोही पनि नआओस्; अथवा पर्वतका कुनै ठाउँमा देखा पनि नपरोस्; कुनै बगाल र बथान पनि पर्वतको सामु नचरोस्।”

4 यसकारण मोशाले पहिलेको जस्तै ढुङ्गाका दुई वटा पाटीहरू काटेर निकाले, र याहवेहले आज्ञा दिनुभएझैँ बिहानै सीनै पवर्तमा उक्ले। तिनले ढुङ्गाका दुई वटा पाटीहरू आफ्ना हातमा बोके।

5 तब याहवेह बादलमा तल ओर्लिनुभयो, र त्यहाँ तिनीसित उभिनुभयो; अनि आफ्नो नाम याहवेह भनी घोषणा गर्नुभयो।

6 उहाँ मोशाको सामु यसो भनेर घोषणा गर्दै जानुभयो, “याहवेह, याहवेह, दयालु र अनुग्रही परमेश्‍वर, रिस गर्नमा ढिलो, प्रेम र विश्‍वासयोग्यताले भरिपूर्ण हुनुहुन्छ।

7 उहाँले हजारौँसित प्रेम कायम राख्नुहुन्छ; अनि दुष्‍टता, विद्रोह र पापलाई क्षमा गर्नुहुन्छ। तरै पनि उहाँले दोषीलाई दण्ड नदिई छाड्नुहुन्‍न। पितापुर्खाका दुष्‍टताको दण्ड तिनीहरूका सन्तान, नातिनातिना र तेस्रो अनि चौथो पुस्तासम्म दिनुहुन्छ।”

8 तब मोशाले तुरुन्तै भुइँसम्मै निहुरेर परमेश्‍वरलाई आराधना गरे।

9 तिनले भने, “हे प्रभु, यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने तपाईं नै हामीसित हिँड्नुहोस्। यो एउटा हठी जाति भए तापनि हाम्रा दुष्‍टता र पाप क्षमा गरिदिनुहोस्; अनि हामीलाई आफ्नो निज सम्पत्तिको रूपमा लिनुहोस्।”

10 तब याहवेहले भन्‍नुभयो: “म तँसित एउटा करार बाँध्दछु। म तेरा सबै मानिसहरूको सामु यस संसारमा भएका कुनै जातिको बीचमा कहिल्यै पनि नगरिएका अद्‌भुत कार्यहरू गर्नेछु। तँ जुन मानिसहरूसित बस्दछस्, तिनीहरूले म याहवेहले कस्तो महान् काम तिमीहरूका निम्ति गर्नेछु, त्यो देख्नेछन्।

11 म तँलाई आज जे आज्ञा दिन्छु, त्यो पालन गर्नू। म तेरो सामु एमोरीहरू, कनानीहरू, हित्तीहरू, परिज्जीहरू, हिव्वीहरू र यबूसीहरूलाई धपाउनेछु।

12 तिमीहरू जाने देशमा बस्‍नेहरूसित होशियार हुनू र सम्झौता नगर्नू, नत्रता तिमीहरूका निम्ति तिनीहरू पासो हुनेछन्।

13 तिनीहरूका वेदीहरू भत्काइदिनू, तिनीहरूका चोखा पत्थरहरू चकनाचुर पारिदिनू र तिनीहरूका अशेराको खाँबो काटेर ढालिदिनू।

14 अरू कुनै देवी-देवताको आराधना नगर्नू; किनकि याहवेह, जसको नाम डाही हो, डाह गर्ने परमेश्‍वर हुनुहुन्छ।

15 “त्यस देशमा बस्‍नेहरूसित होशियार हुनू र करार नबाँध्नू; किनकि तिनीहरूले आफ्ना देवी-देवताहरूका अगि व्यभिचार गर्दा र तिनीहरूका लागि बलिदान चढाउँदा तिमीहरूलाई निम्तो दिनेछन्; अनि तिमीहरूले तिनीहरूका बलिदानबाट खानेछौ।

16 अनि जब तिमीहरूले तिनीहरूका छोरीहरूलाई आफ्ना छोराहरूका निम्ति पत्नी बनाउन रोज्नेछौ, र ती छोरीहरूले आफ्ना देवी-देवताहरूसित व्यभिचार गर्नेछन्; तब तिनीहरूले तिमीहरूका छोराहरूलाई त्यसै गर्न डोर्‍याउनेछन्।

17 “तिमीहरूले आफ्ना निम्ति मूर्तिहरू नबनाउनू।

18 “अखमिरी रोटीको चाड मनाउनू। सात दिनसम्म मैले तिमीहरूलाई आज्ञा दिएझैँ, खमिर नमिसाइएको रोटी खानू। यो आबीब महिनाको तोकिएको समयमा गर्नू; किनकि तिमीहरू त्यही महिनामा इजिप्टबाट निस्केर आएका हौ।

19 “प्रत्येक गर्भको पहिलो फल मेरो हो। तिमीहरूका पशुका सबै भाले, गाईबस्तुका र भेडाबाख्राका पहिले जन्मेका मेरै हुन्।”

20 गधैनीको पहिले जन्मेको बछेडालाई पाठो दिएर छुटाउनू; तर तिमीहरूले छुटाएनौ भने त्यसको गर्दन भाँचिदिनू। तिमीहरूका सबै जेठा छोराहरूलाई छुटाउनू।

21 “छ दिनसम्म काम गर्नू, तर सातौँ दिनमा विश्राम गर्नू; जोत्ने र कटनी गर्ने समयमा पनि विश्राम गर्नू।

22 “गहुँको कटनीबाट पहिलो फल लिएर साताहरूका चाड मनाउनू, र वर्षको अन्तमा अन्‍न भित्र्याउने चाड मनाउनू।

23 वर्षमा तीनपल्ट तेरा सबै पुरुषहरू सार्वभौम याहवेह, इस्राएलका परमेश्‍वरको सामु देखा परून्।

24 म तिमीहरूका सामु जातिहरूलाई धपाइदिनेछु, र तिमीहरूका सिमाना फैलाइदिनेछु; अनि वर्षमा तीनपल्ट तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरको सामु देखा पर्न जाँदा कसैले पनि तिमीहरूका जमिनको लोभ गर्नेछैन।

25 “तिमीहरूले मलाई बलिदानको रगतसित खमिर भएको कुनै पनि कुरा नचढाउनू, र निस्तार चाडको बलिबाट कुनै पनि भाग बिहानसम्म रहन नदिनू।

26 “तिमीहरूका माटोबाट उब्जेका सबैभन्दा असल पहिलो फल याहवेह तिमीहरूका परमेश्‍वरको घरमा ल्याउनू।

27 त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो, “यी कुराहरू लेख्; किनकि यिनै कुराअनुसार मैले तँ र इस्राएलसँग करार बाँधेको छु।”

28 मोशा त्यहाँ रोटी नखाई र पानी नपिई याहवेहसित चालीस दिन र चालीस रातसम्म रहे। तिनले ती साक्षी पाटीहरूमा त्यस करारका वचन अर्थात् दश आज्ञाहरू लेखे।

29 जब मोशा सीनै पर्वतबाट आफ्ना हातहरूमा साक्षी पाटीहरू लिएर तल ओर्ले, तब याहवेहसित तिनले कुरा गरेकोले आफ्नो अनुहार चम्कँदैछ भन्‍ने तिनलाई थाहा भएन।

30 जब हारून र सबै इस्राएलीहरूले मोशालाई देखे, तिनको अनुहार चम्किरहेको थियो; अनि तिनीहरू उनको नजिक आउन डराए।

31 तर मोशाले तिनीहरूलाई बोलाए। अनि हारून र समुदायका सबै अगुवाहरू तिनीकहाँ फर्केर आए; र तिनले उनीहरूसित कुरा गरे।

32 त्यसपछि सबै इस्राएलीहरू तिनको नजिक आए; अनि तिनले तिनीहरू सबैलाई याहवेहले तिनलाई सीनै पर्वतमा दिनुभएका सबै आज्ञाहरू दिए।

33 मोशाले तिनीहरूसित कुरा गरिसकेपछि तिनले आफ्नो अनुहारमाथि घुम्टो लगाए।

34 तर जब मोशा याहवेहसित कुरा गर्न उहाँको उपस्थितिमा जान्थे, आफू बाहिर ननिस्कुन्जेल घुम्टो उतार्थे। अनि तिनी बाहिर आएर तिनले के आज्ञा पाए, सो इस्राएलीहरूलाई सुनाइदिँदा

35 इस्राएलीहरूले तिनको अनुहार चम्केको देख्थे। याहवेहसित कुरा गर्न भित्र नगएसम्म मोशाले फेरि आफ्नो अनुहारमाथि त्यो घुम्टो लगाउँथे।

Ler em outra tradução

Comparar lado a lado