2 Reis 8

NPIONCB

1 एलीशाले जुन स्त्रीको छोरालाई मृत्युबाट बचाएका थिए, ती स्त्रीलाई तिनले भनेका थिए, “तिमी आफ्नो परिवार लिएर केही समयको निम्ति जहाँ सक्छौ त्यहीँ गएर बस। किनकि याहवेहले सात वर्षसम्मका लागि देशमा अनिकाल घोषणा गर्नुभएको छ।”

2 ती स्त्रीले परमेश्‍वरका जनले भनेझैँ गरिन्। तिनी आफ्ना परिवारसित गइहालिन्, र पलिश्तीहरूको देशमा सात वर्षसम्म बसोबास गरिन्।

3 सात वर्ष बितेपछि तिनी पलिश्तीहरूको देशबाट फर्केर आइन्। अनि आफ्नो घर र जमिन फिर्ता माग्न राजाकहाँ बिन्ती गर्न गइन्।

4 त्यसै बेला राजा परमेश्‍वरका जनका सेवक गेहजीसित कुरा गरिरहेका थिए। तब राजाले भने, “एलीशाले गरेका सबै महान् कार्यहरूको विषयमा मलाई भन।”

5 जब गेहजीले एलीशाले मरेकोलाई कसरी जीवन दिए भनी राजालाई वर्णन गरिरहेका थिए, तब ती स्त्री, जसको छोरालाई एलीशाले मृत्युबाट जीवित पारेका थिए, आफ्नो घर र जग्गाजमिनको निम्ति राजालाई बिन्ती गर्नलाई आइन्।

6 राजाले त्यस स्त्रीलाई यसबारे सोधे, र तिनले राजालाई बताइदिइन्।

7 एलीशा दमस्कसमा गए। अरामका राजा बेन-हददचाहिँ बिरामी परेका थिए। जब राजालाई भनियो, “परमेश्‍वरका जन यहाँसम्म आउनुभएको छ,”

8 तब तिनले हजाएललाई भने, “आफूसित उपहार लिएर परमेश्‍वरका जनलाई भेट्न जाऊ। ‘के म यस बिरामीबाट निको हुन्छु कि?’ भनेर परमेश्‍वरसित सल्‍लाह लिन लगाऊ।”

9 हजाएल आफूसित दमस्कसका उत्तम पदार्थहरू उपहारस्वरूप चालीस वटा ऊँटहरूमा लदाएर एलीशालाई भेट्न गए। अनि तिनी भित्र गएर तिनको सामु उभिए, र भने, “तपाईंको छोरा अरामका राजा बेन-हददले मलाई ‘म यस बिरामीबाट निको हुन्छु कि हुँदिनँ?’ भनेर तपाईंलाई सोध्न पठाउनुभएको छ।”

10 एलीशाले जवाफ दिए, “गएर तिनलाई भन, ‘तपाईं निश्‍चय निको हुनुहुनेछ।’ तरै पनि याहवेहले मलाई पक्‍कै तिनको मृत्यु हुनेछ भनेर प्रकट गर्नुभएको छ।”

11 एलीशाले एक टक लगाएर हजाएललाई लज्जित होउन्जेल हेरिरहे। तब परमेश्‍वरका जन रुन लागे।

12 हजाएलले सोधे, “मेरा मालिक किन रुँदै हुनुहुन्छ?”

13 हजाएलले भने, “म तपाईंको सेवक एउटा कुकुरजस्तोले यस्तो ठूलो कार्य कसरी सम्पन्‍न गर्न सक्छु र?”

14 तब हजाएलले एलीशालाई छोडेर आफ्ना मालिककहाँ फर्किगए। जब बेन-हददले “एलीशाले तिमीलाई के भने?” भनेर सोधे, हजाएलले जवाफ दिए, “तपाईं निश्‍चय नै निको हुनुहुनेछ भनी उहाँले मलाई भन्‍नुभयो।”

15 तर भोलिपल्ट तिनले एउटा बाक्लो लुगा लिएर त्यसलाई पानीमा चोपेर राजाको मुख छोपिदिए। यसरी राजाको मृत्यु भयो। त्यसपछि हजाएल राजा भए।

16 इस्राएलका राजा आहाबका छोरा योरामको शासनकालको पाँचौँ वर्षमा यहोशापातका छोरा यहोराम यहूदाका राजाको रूपमा आफ्नो शासन सुरु गरे।

17 राजा हुँदा तिनी बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष शासन गरे।

18 तिनी आहाबका घरानाले गरेझैँ इस्राएलका राजाहरूका चालहरूमा हिँडे; किनकि तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए। तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे।

19 तरै पनि आफ्नो सेवक दावीदको खातिर याहवेहले यहूदालाई नाश गर्ने इच्छा गर्नुभएन। उहाँले दावीद र तिनको सन्तानको निम्ति एउटा बत्ती सदासर्वदाका निम्ति कायम रहने प्रतिज्ञा गर्नुभएको थियो।

20 यहोरामको समयमा एदोमले यहूदाको विरुद्ध विद्रोह गर्‍यो, र एदोमीहरूले आफ्नै राजा खडा गरे।

21 यसकारण यहोराम आफ्ना सबै रथहरू लिएर जाईरमा गए। एदोमीहरूले तिनी र तिनका रथहरूका सेनापतिहरूलाई घेरा हाले। तर यहोरामले राति नै उठेर तिनीहरूलाई आक्रमण गरे। तथापि तिनको फौजचाहिँ भागेर घर फर्किए।

22 आजको दिनसम्मै एदोम यहूदाको विरुद्धमा छ। लिब्नाहले पनि त्यसै समय विद्रोह गर्‍यो।

23 यहोरामको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकहरूमा लेखिएका छैनन् र?

24 यहोराम आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे, र तिनीहरूसितै दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा अहज्याह राजा भए।

25 इस्राएलका राजा आहाबका छोरा योरामको बाह्रौँ वर्षमा यहोरामका छोरा अहज्याह यहूदाका राजा भएर शासन सुरु गरे।

26 राजा हुँदा अहज्याह बाइस वर्षका थिए। तिनले यरूशलेममा एक वर्ष राज्य गरे। तिनकी आमाको नाम अतल्याह थियो, जो इस्राएलका राजा ओम्रीकी नातिनी थिइन्।

27 तिनी आहाबका घरानाका चालमा हिँडेर आहाबका घरानाले गरेझैँ याहवेहको दृष्‍टिमा दुष्‍टता गरे; किनकि आहाबका घरानासित तिनको वैवाहिक नाता थियो।

28 अहज्याह आहाबका छोरा यहोरामसित, अरामका राजा हजाएलको विरुद्धमा लडाइँ गर्न रामोत-गिलादमा गए। अरामीहरूले योरामलाई घाइते बनाए।

29 यसकारण अरामका राजा हजाएलसित रामोतमा लडाइँ गर्न जाँदा अरामीहरूले तिनलाई घाइते बनाएका थिए, र त्यसबाट निको हुन योराम यिजरेलमा फर्के।

Ler em outra tradução

Comparar lado a lado