1 सामरियामा आहाबका घरानाका सत्तरी जना छोराहरू थिए। यसकारण येहूले पत्रहरू लेखेर ती सामरियामा यिजरेलका अधिकृतहरू, प्रधानहरू र आहाबका छोराछोरीहरूका अभिभावकहरूलाई पठाए। तिनले यसो भने,
2 “तपाईंहरूसित राजाका छोराहरू, रथहरू, घोडाहरू, सुरक्षित सहर र हतियारहरू पनि भएकोले,
3 यो पत्र तपाईंहरूकहाँ पुग्नेबित्तिकै तपाईंहरूका मालिकका छोराहरूमध्ये सबैभन्दा उत्तम र सुयोग्य छोरालाई चुनेर त्यसलाई आफ्ना पिताको सिंहासनमा स्थापित गर्नुहोस्। त्यसपछि आफ्ना मालिकको घरानाका निम्ति लडाइँ गर्नुहोस्।”
4 तर तिनीहरू डराएर भने, “यदि दुई राजाहरू त तिनको अगि टिक्न सकेनन् भने हामी कसरी टिक्न सक्छौँ?”
5 यसकारण दरबारका प्रशासक, सहरका राज्यपाल, प्रधानहरू र अभिभावकहरूले येहूलाई यो खबर पठाए: “हामी तपाईंका सेवकहरू हौँ; र तपाईंले हामीलाई जे आज्ञा गर्नुहुन्छ, त्यो हामी गर्नेछौँ। हामी कसैलाई पनि राजा नियुक्त गर्नेछैनौँ। तपाईंलाई जे ठिक लाग्छ, त्यही गर्नुहोस्!”
6 तब येहूले तिनीहरूलाई यसो भनेर दोस्रो पत्र लेखे, “यदि तपाईंहरू मेरो पक्षमा हुनुहुन्छ र मेरो कुरा मान्नुहुन्छ भने भोलि यही बेला तपाईंहरूका मालिकका छोराहरूका शिर लिएर मकहाँ यिजरेलमा आउनुहोस्।”
7 त्यो पत्र आइपुग्दा ती मानिसहरूले ती राजकुमारहरूलाई लगे, र ती सत्तरी जना सबैलाई मारे। तिनीहरूले उनीहरूका शिर टोकरीहरूमा हाले, र यिजरेलमा येहूकहाँ पठाइदिए।
8 एक जना सन्देशवाहक येहूकहाँ आयो, र तिनलाई भन्यो, “तिनीहरूले ती राजकुमारहरूका शिर ल्याएका छन्।”
9 भोलिपल्ट बिहान येहू बाहिर गए। तिनी सबै मानिसहरूका सामु उभिए, र भने, “तपाईंहरू निर्दोष हुनुहुन्छ। मेरा मालिकको विरुद्धमा षड्यन्त्र गरेर तिनलाई मार्ने म नै हुँ, तर यिनीहरूलाई कसले मार्यो?
10 त्यसो भए अब याहवेहले आहाबको घरानाको विरुद्धमा बोल्नुभएको एउटै वचन पनि अपूरो हुनेछैन भनी जान्नुहोस्। याहवेहले आफ्नो सेवक एलियाद्वारा जे भन्नुभयो, त्यो गर्नुभयो।”
11 यसकारण येहूले यिजरेलमा आहाबको घरानामा भएका प्रत्येकलाई तिनका सबै प्रमुख मानिसहरू, तिनका घनिष्ठ मित्रहरू र पुजारीहरू, कोही पनि जीवित नरहने गरी सबैलाई मारे।
12 त्यसपछि येहू निस्के, र सामरियातिर गए—गोठालाहरू बस्ने बेथ-एकेदमा,
13 यहूदाका राजा अहज्याहका केही आफन्तहरूसित तिनको भेट भयो; अनि तिनीहरूलाई सोधे, “तिमीहरू को हौ?”
14 तब तिनले हुकुम गरे, “यिनीहरूलाई जिउँदै पक्र!” यसकारण तिनीहरूले उनीहरूलाई जिउँदै पक्रे, र ती बयालीस जना मानिसहरूलाई बेथ-एकेदको कुवाको छेउमा मारे। तिनले एउटैलाई पनि जीवित छोडेनन्।
15 जब येहूले त्यो ठाउँ छोडे, तब तिनी रेकाबका छोरा योनादाबकहाँ आए, जो तिनलाई नै भेट्न आइरहेका थिए। येहूले तिनलाई अभिवादन गरेर भने, “म तपाईंप्रति असल भएझैँ, के तपाईं पनि मसँग असल हुनुहुन्छ?”
16 येहूले भने, “मसित आएर याहवेहप्रति मेरो जोश हेर्नुहोस्!” तब तिनले उनलाई आफूसित रथमा सवार गराएर लगे।
17 येहू सामरियामा आएपछि तिनले त्यहाँ आहाबका परिवारमा छोडिएकाहरू सबैलाई मारे। तिनले तिनीहरूलाई एलियाद्वारा बोलिएका याहवेहको वचनअनुसार नाश गरे।
18 तब येहूले सबै मानिसहरूलाई एकसाथ भेला गरे र तिनीहरूलाई भने, “आहाबले जति बालको सेवा गरे; येहूले त्योभन्दा धेरै नै बढी गर्नेछ।
19 अब बालका सबै अगमवक्ताहरू, उसका सबै सेवकहरू र सबै पुजारीहरूलाई मकहाँ बोलाओ। एउटै पनि नछोडियोस्; किनकि मैले बालको निम्ति एउटा महान् बलिदान चढाउन लागेको छु। आउन छुटेको जोसुकै होस्, कोही पनि बाँच्नेछैन।” तर येहूले बालका सेवकहरूलाई नाश गर्न चाल चलिरहेका थिए।
20 येहूले भने, “बालको सम्मानमा एउटा सभा बोलाओ।” यसकारण तिनीहरूले त्यो घोषणा गरे।
21 तब तिनले इस्राएलभरि खबर पठाए, र बालका सबै सेवकहरू आए; एउटै पनि छुटेको थिएन। तिनीहरू बालको मन्दिरमा एक छेउदेखि अर्को छेउसम्म खचाखच हुने गरी भित्र पसे।
22 तब येहूले वस्त्र-भण्डारको रखवालालाई भने, “बालका सबै सेवकहरूका निम्ति वस्त्र ल्याऊ।” यसकारण त्यसले तिनीहरूका निम्ति वस्त्रहरू ल्याइदिए।
23 तब येहू र रेकाबका छोरा योनादाब बालको मन्दिरभित्र गए। येहूले बालका सेवकहरूलाई भने, “चारैतिर हेर, र यहाँ तिमीहरूसित याहवेहका सेवकहरू एउटै पनि छैनन् भनी निश्चय गर। यहाँ केवल बालका सेवकहरू मात्र होऊन्।”
24 यसकारण तिनीहरू बलिदानहरू र होमबलिहरू चढाउन भित्र गए। येहूले बाहिर असी जना मानिसहरूलाई खटाएर राखेका थिए, र यो चेतावनी दिएका थिए, “यदि मैले तिमीहरूका हातमा सुम्पेको एक जना मानिसलाई पनि उम्कन दियौ भने त्यसको प्राणको सट्टा तिमीहरूको प्राण हुनेछ।”
25 येहूले होमबलि चढाउनेबित्तिकै पहरेदारहरू र अधिकारीहरूलाई यसो भनेर हुकुम दिए, “भित्र पसेर तिनीहरूलाई मार; कोही पनि उम्कन नपाओस्।” यसकारण तिनीहरूले उनीहरूलाई तरवारले मारे। पहरेदारहरू र अधिकारीहरूले ती लासहरू बाहिर फ्याँकिदिए, र बालको मन्दिरको भित्री भागमा पसे।
26 तिनीहरूले बालको मन्दिरको चोखो ढुङ्गालाई बालको मन्दिरबाट बाहिर निकाले, र त्यसलाई जलाइदिए।
27 तिनीहरूले बालको चोखो ढुङ्गालाई भत्काइदिए, र त्यसको मन्दिरलाई तोडिदिए। आजको दिनसम्म नै मानिसहरूले त्यसलाई चर्पीको निम्ति प्रयोग गरेका छन्।
28 यसरी येहूले इस्राएलमा बालको पूजा नष्ट गरिदिए।
29 तरै पनि येहू नबातका छोरा यारोबामका पापबाट हटेनन्, जसले इस्राएललाई बेथेल र दानमा सुनका बाछाहरू पुज्न लगाएर पाप गर्न लगाएका थिए।
30 याहवेहले येहूलाई भन्नुभयो, “तैँले मेरो दृष्टिमा जे ठिक छ, त्यही गर्न लगाएर असल काम गरेको र आहाबका घरानाप्रति मेरो मनमा भएका कुरा गरेको कारण तेरो सन्तान चौथो पुस्तासम्म इस्राएलको सिंहासनमा बस्नेछ।”
31 तरै पनि येहूले याहवेह इस्राएलका परमेश्वरको व्यवस्था सम्पूर्ण हृदयले पालन गर्नमा होसियार रहेनन्। तिनी यारोबामले इस्राएललाई गर्न लगाएका पापहरूबाट पछि हटेनन्।
32 ती दिनहरूमा याहवेहले इस्राएलको सिमाना घटाउन थाल्नुभएको थियो। हजाएलले इस्राएलीहरूका धेरै प्रान्तहरू,
33 यर्दनको पूर्वपट्टिका गिलादको सम्पूर्ण देशमा (जुन गाद, रूबेन र मनश्शेका प्रान्त थिए), अर्नोनको साँघुरो खोँचमा भएको अरोएरदेखि गिलाद हुँदै बाशानसम्मै जिते।
34 येहूको शासनका अरू घटनाहरू, र तिनले गरेका सबै कार्यहरू, र तिनका सबै उपलब्धीहरू, के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकहरूमा लेखिएका छैनन् र?
35 येहू आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे; र सामरियामा गाडिए। तिनीपछि तिनका छोरा यहोआहाज राजा भए।
36 येहूले सामरियामा इस्राएलमाथि अट्ठाइस वर्ष शासन गरे।