2 Crônicas 6

NPIONCB

1 तब सोलोमनले भने, “याहवेहले भन्‍नुभएको छ, कि उहाँ घोर बादलको अँध्यारोमा बास गर्नुहुन्छ।

2 मैले तपाईंका निम्ति एउटा भव्य भवन निर्माण गरेको छु, तपाईं सदासर्वदा बास गर्नलाई तपाईंको निम्ति एक वासस्थान।”

3 इस्राएलका सारा समुदाय त्यहाँ उभिरहेका बेला राजा तिनीहरूतिर फर्किए, र तिनीहरूलाई आशीर्वाद दिए।

4 त्यसपछि तिनले भने:

5 ‘मैले मेरा मानिसहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएको दिनदेखि उसो आफ्नो नामको खातिर त्यहाँ एउटा मन्दिर बनाउनु भनेर मैले इस्राएलको कुनै कुलमा सहर चुनेको छैनँ, न त मैले आफ्नो जाति इस्राएलमाथि अगुवा हुन भनी कसैलाई चुनेको छु।

6 तर अब मेरो नाम त्यसमा रहोस् भनेर मैले यरूशलेमलाई चुनेको छु, र दावीदलाई मेरा प्रजा इस्राएलमाथि शासन गर्न मैले चुनेको छु।’

7 “मेरा पिता दावीदको हृदयमा याहवेह इस्राएलका परमेश्‍वरको नामको खातिर एउटा मन्दिर निर्माण गर्ने विचार थियो।

8 तर याहवेहले मेरा पिता दावीदलाई भन्‍नुभयो, ‘मेरो नामको खातिर तेरो हृदयमा एउटा मन्दिर बनाउने विचार राखेर तैँले आफ्नो हृदयमा असल गरिस्।

9 तापनि तैँले त्यो मन्दिर बनाउनेछैनस्, तर तेरो आफ्नै मासु र रगत, तेरो छोराले मेरो नामको खातिर मन्दिर बनाउनेछ।’

10 “याहवेहले आफ्नो प्रतिज्ञा कायम राख्नुभयो: म मेरा पिता दावीदपछि राजा भएँ। अनि अहिले म याहवेहले प्रतिज्ञा गर्नुभएझैँ इस्राएलको सिंहासनमा बसेको छु; र मैले याहवेह इस्राएलका परमेश्‍वरको नामका निम्ति यो मन्दिर बनाएको छु।

11 त्यहाँ मैले याहवेहले इस्राएलसँग बाँध्नुभएको करार भएको सन्दुक राखेको छु।”

12 तब सोलोमन इस्राएलका सारा समुदायको सामु याहवेहको वेदीको अगि उभिएर आफ्ना हात फैलाए।

13 सोलोमनले पाँच क्यूबिट लामो, पाँच क्यूबिट चौडा र तीन क्यूबिट अग्लो काँसाको मञ्च बनाएर त्यसलाई बाहिरी चोकको बीचमा राखेका थिए। तिनी त्यस मञ्चमाथि उभिए। त्यसपछि इस्राएलका सारा समुदायको सामु घुँडा टेके र स्वर्गतिर आफ्ना हातहरू फैलाए।

14 तिनले भने:

15 तपाईंले आफ्नो सेवक मेरा पिता दावीदसित आफ्नो मुखले गर्नुभएको प्रतिज्ञा आफ्ना हातले पूरा गर्नुभएको छ, जो आजको दिनसम्मै छँदैछ।

16 “अब हे याहवेह, इस्राएलका परमेश्‍वर, तपाईंले आफ्नो सेवक मेरा पिता दावीदको खातिर उहाँलाई यसो भन्‍नुभएको प्रतिज्ञा पूरा गर्नुहोस् ‘मेरा व्यवस्थाअनुसार तैँले गरेझैँ तेरा छोराहरू होसियारीसाथ मेरो सामु हिँडेर पालन गरे भने इस्राएलको सिंहासनमा बस्‍नलाई तँलाई कुनै मानिसको अभाव हुनेछैन।’

17 अब, हे याहवेह, इस्राएलका परमेश्‍वर, तपाईंले आफ्नो सेवक दावीदलाई भन्‍नुभएको कुरा सत्य भएर आओस्।

18 “तर के परमेश्‍वर साँच्‍चै मानिसहरूसित पृथ्वीमा बस्‍नुहुनेछ? आकाश त के, अति उच्‍च स्वर्गमा पनि तपाईं अटाउनुहुन्‍न। मैले बनाएको यस मन्दिरले त झन् के सक्ला र?

19 तरै पनि, हे याहवेह मेरा परमेश्‍वर, आफ्नो सेवकको प्रार्थना र दयाको निम्ति चढाएको अर्जबिन्तीमा ध्यान दिनुहोस्। तपाईंको उपस्थितिमा तपाईंको सेवकले गरेको पुकार र प्रार्थना सुन्‍नुहोस्।

20 तपाईंले आफ्नो नाम राख्नेछु भनेर भन्‍नुभएको यस ठाउँमा तपाईंका आँखा दिनरात खुल्‍लै रहून्। यस ठाउँतिर फर्केर तपाईंको सेवकले चढाएको प्रार्थना सुन्‍नुहोस्।

21 तपाईंको सेवक र तपाईंको जाति इस्राएलले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तिनीहरूको अर्जबिन्ती सुनिदिनुहोस्। तपाईंको वासस्थान स्वर्गबाट सुन्‍नुहोस्; र तपाईंले सुन्‍नुभएपछि क्षमा गर्नुहोस्।

22 “कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा अपराध गर्‍यो, र उसलाई शपथ खान लगाइयो; अनि उसले यस मन्दिरमा तपाईंको वेदीको सामु आएर शपथ खायो भने,

23 तब तपाईंले स्वर्गबाट सुनेर काम गर्नुहोस्। आफ्ना सेवकहरूको बीचमा न्याय गर्नुहोस्, र त्यस दोषीलाई अपराधी ठहर्‍याउँदै त्यसले गरेको काम त्यसकै शिरमाथि खन्याइदिनुहोस्। अनि निर्दोषलाई त्यसको निर्दोषता प्रमाणित गरिदिनुहोस्।

24 “जब तपाईंको जाति इस्राएलले तपाईंको विरुद्धमा पाप गरेको कारणले तिनीहरू आफ्ना शत्रुहरूद्वारा हार्लान्, र तिनीहरू फेरि तपाईंतिर फर्केर यस मन्दिरमा आएर तपाईंको अगि प्रार्थना र बिन्ती गर्दै तपाईंको नामलाई प्रशंसा चढाए भने,

25 तब स्वर्गबाट सुन्‍नुहोस् र तपाईंले आफ्नो जाति इस्राएललाई क्षमा दिनुहोस्, र तिनीहरूलाई र तिनीहरूका पितापुर्खाहरूलाई दिनुभएको देशमा फर्काएर ल्याउनुहोस्।

26 “तपाईंका जातिले पाप गरेको कारण आकाश बन्द भएर पानी परेन र तिनीहरूले यस ठाउँतिर फर्किएर प्रार्थना गर्दै तपाईंको नामलाई प्रशंसा चढाए अनि तपाईंले तिनीहरूलाई दण्ड दिनुभएको कारण तिनीहरू आफ्ना पापबाट फर्किए भने,

27 तब स्वर्गबाट सुन्‍नुहोस् र आफ्ना सेवकहरू, इस्राएल तपाईंको जातिलाई क्षमा गर्नुहोस्। तिनीहरूलाई ठिकसित जिउने मार्ग सिकाउनुहोस्। अनि तपाईंले आफ्नो जातिलाई उत्तराधिकारस्वरूप दिनुभएको देशमा वर्षा पठाइदिनुहोस्।

28 “जब देशमा अनिकाल वा विपत्ति आउँछ, अथवा वनस्पति ओइलाउने वा ढुसी पर्ने रोग लाग्छ, अथवा सलह र फट्याङ्ग्राहरू आउँछन्, वा तिनीहरूका कुनै सहरमा शत्रुहरूले घेरा हाल्छन्, र जस्तोसुकै आपत् वा रोग किन आइनपरोस्,

29 तपाईंको जाति इस्राएलले आफ्ना हात यस मन्दिरतिर फैलाउँदै आफ्नो कष्‍टलाई थाहा पाएर प्रार्थना र विनय चढायो भने,

30 तब तपाईंको वासस्थान स्वर्गबाट सुन्‍नुहोस् र क्षमा गर्नुहोस् (किनकि तपाईंले मात्र मानिसहरूका हृदयलाई जान्‍नुहुन्छ)। यसकारण त्यसलाई त्यसका सबै कामअनुसारको प्रतिफल दिनुहोस्।

31 यसरी तपाईंले हाम्रा पितापुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूले तपाईंको भय मानून्।

32 “ती विदेशीहरू, जो तपाईंका प्रजा इस्राएलबाट होइनन्, तर तपाईंको महान् नाम, तपाईंको शक्तिशाली बाहुली र तपाईंको फैलिएको पाखुराको विषयमा सुनेर टाढा देशबाट आएका छन् भने जब तिनीहरूले यस मन्दिरतिर फर्केर प्रार्थना गर्छन्,

33 तब आफ्नो वासस्थान स्वर्गबाट सुन्‍नुहोस। अनि त्यस परदेशीले जे माग्छ, त्यही गर्नुहोस्; ताकि यस पृथ्वीका सबै मानिसहरूले तपाईंको जाति इस्राएलले झैँ तपाईंको नाम जानून् र तपाईंको भय मानून्। अनि मैले बनाएको यस भवनमा तपाईंको नाम रहेछ भनी जानून्।

34 “तपाईंका प्रजा आफ्ना शत्रुहरूको विरुद्धमा जाँदा तपाईंले तिनीहरूलाई जहाँ पठाउनुहुन्छ, तिनीहरूले तपाईंले चुन्‍नुभएको यो सहर, मैले तपाईंको नामको खातिर बनाएको यस मन्दिरतिर फर्केर तपाईंसित प्रार्थना गरेको बेला,

35 स्वर्गबाट तिनीहरूका प्रार्थना र तिनीहरूका अर्जबिन्ती सुनिदिनुहोस्, र तिनीहरूको पक्ष लिनुहोस्।

36 “जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्—किनकि पाप नगर्ने कोही पनि छैन; र तिनीहरूसित रिसाउनुभएर तपाईंले तिनीहरूलाई शत्रुको हातमा सुम्पिदिनुभएर उनीहरूले तिनीहरूलाई कैद गरेर टाढा र नजिक लगे भने,

37 तिनीहरू कैद भएको ठाउँमा तिनीहरूको हृदय परिवर्तन भएर तिनीहरूले आफू कैद गरिएको देशमा पश्‍चात्ताप गरेर तपाईंसित अर्जबिन्ती गर्दै ‘हामीले पाप गरेका छौँ, हामीले भूल गरेर दुष्‍ट काम गरेका छौँ’ भन्छन् भने;

38 अनि तिनीहरू आफू कैद भएर लगिएको देशमा आफ्ना हृदय र प्राणले तपाईंतिर फर्कन्छन्; र तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको देशतिर फर्केर, तपाईंले चुन्‍नुभएको सहरतिर फर्केर, मैले तपाईंको खातिर बनाएको मन्दिरतिर फर्केर, तिनीहरूले प्रार्थना गरे भने,

39 तपाईंको वासस्थान स्वर्गबाट तिनीहरूका प्रार्थना र अर्जबिन्ती सुनिदिनुहोस् र तिनीहरूको पक्ष लिइदिनुहोस्। तपाईंको विरुद्धमा पाप गर्ने तपाईंको प्रजालाई क्षमा दिनुहोस्।

40 “अब, हे मेरा परमेश्‍वर, आफ्ना आँखा खोल्नुहोस् र यस ठाउँमा चढाइएका प्रार्थनाहरू सुनिदिनुहोस्।

41 “अब उठ्नुहोस्, हे याहवेह परमेश्‍वर, तपाईं र तपाईंका शक्तिको सन्दुक,

42 हे याहवेह परमेश्‍वर, तपाईंको अभिषिक्त जनलाई इन्कार नगर्नुहोस्।

Ler em outra tradução

Comparar lado a lado