2 Crônicas 13

NPIONCB

1 यारोबामको शासनकालको अठारौँ वर्षमा अबीयाह यहूदाका राजा भए।

2 तिनले यरूशलेममा तीन वर्ष राज्य गरे। तिनकी आमाको नाम माका थियो, जो गेबाको ऊरीएलकी छोरी थिइन्।

3 अबीयाह चार लाख योग्य योद्धाहरूको दल लिएर लडाइँमा उत्रे। यारोबामले पनि तिनको विरुद्धमा आठ लाख योग्य सैनिकहरू चुने।

4 अबीयाहले एफ्राइमको पहाडी मुलुकमा भएको समारैम डाँडामा उभिएर भने, “हे यारोबाम र सारा इस्राएल हो, मेरो कुरा सुन!

5 याहवेह इस्राएलका परमेश्‍वरले इस्राएल राज्य नुनको करारद्वारा दावीदलाई र तिनका सन्तानलाई सदासर्वदाका निम्ति दिनुभएको छ भनी के तिमीहरूले थाहा पाउनुपर्ने होइन र?

6 तरै पनि दावीदका छोरा सोलोमनका अधिकृत नबातका छोरा यारोबामले आफ्ना मालिकको विरुद्धमा विद्रोह गरे।

7 केही बेकम्मा बदमासहरू तिनको पछि लागेर सोलोमनका छोरा रहबामलाई विरोध गरे। त्यस समय रहबाम उमेरमा कलिलो र निर्णय लिन नसक्ने भएकोले तिनीहरूको प्रतिकार गर्न सक्दैनथिए।

8 “अब तिमीहरू दावीदका सन्तानको हातमा रहेको याहवेहको राज्यको विरुद्ध खडा हुने योजना गर्दछौ। अब तिमीहरूसित एउटा विशाल फौज र तिमीहरूका निम्ति देवताहरू हुनलाई यारोबामले बनाएका सुनका बाछाहरू छन्।

9 तर के तिमीहरूले याहवेहका पुजारीहरू, हारूनका छोराहरू र लेवीहरूलाई निकालेर अरू देशका मानिसहरूले गरेझैँ आफ्नै पुजारीहरू बनाएका छैनौ र? एउटा बाछा र सात वटा भेडा लिएर आफूलाई पवित्र तुल्याउन आउने जोसुकै पनि त्यसको पुजारी भइहाल्छ, जो ईश्‍वर हुँदै होइन।

10 “हाम्रो विषयमा चाहिँ याहवेह नै हाम्रा परमेश्‍वर हुनुहुन्छ र हामीले उहाँलाई त्यागेका छैनौँ। याहवेहको सेवा गर्ने पुजारीहरू हारूनका छोराहरू हुन्, र लेवीहरूले तिनीहरूलाई सघाउँछन्।

11 हरेक बिहान र साँझ तिनीहरूले याहवेहकहाँ होमबलि र सुगन्धित धूप चढाउँछन्। तिनीहरूले विधिपूर्वक शुद्ध गरिएको टेबुलमा रोटी मिलाएर राख्छन्, र हरेक साँझ सुनको सामदानमा बत्ती बाल्छन्। यसरी हामी साँच्‍चै याहवेहका नियमहरू पालन गर्छौँ। तर तिमीहरूले उहाँलाई त्यागेका छौ।

12 परमेश्‍वर हामीसित हुनुहुन्छ; उहाँ नै हाम्रा अगुवा हुनुहुन्छ। उहाँका पुजारीहरूले आफ्ना तुरहीहरूले तिमीहरूको विरुद्धमा युद्ध-ध्वनि निकाल्नेछन्। हे इस्राएलका मानिसहरू हो, याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा लडाइँ नगर; किनकि तिमीहरू सफल हुनेछेनौँ।”

13 त्यही बेला यारोबामले आफ्ना केही दललाई सुटुक्‍क पठाएका थिए, र तिनी यहूदाको सामु हुँदा ढुक्नेहरूचाहिँ तिनीहरूका पछि थिए।

14 यहूदाका मानिसहरूले फर्केर हेर्दा आफूलाई अगि र पछिबाट आक्रमण गरिरहेका देखे। तब तिनीहरूले याहवेहको पुकार गरे। पुजारीले आफ्ना तुरहीहरू फुके।

15 यहूदाका मानिसहरूले युद्ध घोषणाका आवाज निकाले। अनि यो आवाज गुञ्जिएपछि परमेश्‍वरले यारोबाम र सम्पूर्ण इस्राएललाई अबीयाह र यहूदाको सामु परास्त गर्नुभयो।

16 इस्राएलीहरू यहूदाको सामुबाट भागे, तब परमेश्‍वरले तिनीहरूलाई उनीहरूका हातमा सुम्पिदिनुभयो।

17 अबीयाह र उनका मानिसहरूले तिनीहरूलाई धेरै नोक्सानी पुर्‍याए, र इस्राएलका पाँच लाख योग्य मानिसहरू मारिए।

18 इस्राएलका मानिसहरू त्यस दिन पराजित भए, र यहूदाका मानिसहरू विजयी भए; किनकि तिनीहरूले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरमाथि भरोसा राखे।

19 अबीयाहले यारोबामलाई खेदे; अनि तिनीबाट बेथेल, येशना र एप्रोनका सहरहरू तिनीहरूका चारैतिरका गाउँहरूसमेत लिए।

20 अबीयाहको शासनकालभरि यारोबामले आफ्नो शक्ति प्राप्‍त गरेनन्। याहवेहले तिनीमाथि प्रहार गर्नुभयो र तिनी मरे।

21 तर अबीयाह सामर्थी हुँदैगए। तिनले चौध पत्नीहरू विवाह गरे। तिनी बाइस छोरा र सोह्र छोरीहरूका पिता भए।

22 अबीयाहहको शासनकालका अरू घटनाहरू, तिनले गरेका र भनेका ती कुराहरू अगमवक्ता इद्दोका वृतान्तहरूमा लेखिएका छन्।

Ler em outra tradução

Comparar lado a lado