2 Coríntios 3

NPIONCB

1 के हामी फेरि आफ्नै प्रशंसा गर्न थालेका छौँ? अथवा अरू मानिसहरूलाई झैँ हामीलाई पनि तिमीहरूलाई वा तिमीहरूबाट सिफारिस पत्रहरू लैजान आवश्यकता छ?

2 तिमीहरू नै हाम्रा सिफारिस पत्र हौ; जुन हाम्रा हृदयहरूमा लेखिएको छ, र सबै मानिसहरूद्वारा चिनिन्छ र पढिन्छ।

3 तिमीहरूले नै यो देखाउँदछौ, तिमीहरू ख्रीष्‍टका पत्र हौ, हाम्रा सेवाका प्रतिफलहरू हौ। जुन पत्र मसीले होइन, तर जीवित परमेश्‍वरका आत्माले लेखिएको हो, ढुङ्गाका पाटीमा होइन, तर मानवीय हृदयका पाटीहरूमा लेखिएको छ।

4 परमेश्‍वरमा ख्रीष्‍टद्वारा हाम्रो यस्तो भरोसा छ।

5 आफैँले दाबी गर्ने किसिमको कुनै योग्यता हामीमा छैन, तर हाम्रो योग्यताचाहिँ परमेश्‍वरबाट नै आउँछ।

6 उहाँले नै हामीलाई नयाँ करारका सेवकहरूको रूपमा योग्य बनाउनुभएको छ। लिखित नियमको रूपमा होइन, तर आत्माद्वारा; किनकि लिखित अक्षरले मार्छ, तर आत्माले जीवन दिनुहुन्छ।

7 तर ढुङ्गाहरूमा खोपिएका अक्षरहरूको सेवाले मृत्यु ल्यायो र त्यो महिमासाथ आयो; अनि त्यही महिमाको कारण इस्राएलीहरूले मोशाको चम्किलो अनुहार हेर्न सकेनन्। यद्यपि त्यो हराएर जाने महिमाको चमक थियो भने,

8 के आत्माको जीवन दिने सेवा झन् महिमामय हुनेछैन र?

9 मानिसहरूलाई दोषी ठहराउने त्यो नियमको सेवा महिमामय थियो भने धार्मिकता ल्याउने सेवा झन् कति बढी महिमामय हुन्छ!

10 तर एक पटक जे महिमामय थियो, त्यसको तुलना वर्तमान महिमाले गर्दा अब त्यो महिमापूर्ण रहेन।

11 किनकि यदि बितेर जाने महिमापूर्ण छ भने सधैँ रहिरहनेचाहिँ झन् बढ्ता महिमापूर्ण होला!

12 यसकारण हामीसित यस्तो आशा भएको हुनाले अत्यन्त साहसी भएका छौँ।

13 हामी मोशाजस्ता होइनौँ, जसले धमिलिँदै गएको महिमा इस्राएलीहरूले नदेखून् भनी आफ्नो अनुहारमा घुम्टो हाल्थे।

14 तर इस्राएलीहरूको मन मन्द बनाइएको थियो; किनकि आजको दिनसम्मै पुरानो करार पढ्दा त्यही घुम्टोले ढाकिरहेकै छ। यो हटाइएकै छैन; किनकि ख्रीष्‍टमा मात्र यो हटाइन्छ।

15 आज पनि यदि मोशाका पुस्तकहरू पढिन्छ भने तिनीहरूको हृदयलाई घुम्टोले ढाकेको हुन्छ।

16 तर जब कोही प्रभुतिर फर्कन्छ, तब त्यो घुम्टो हटाइन्छ।

17 अब प्रभु आत्मा हुनुहुन्छ; र जहाँ प्रभुको आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।

18 हामी सबैले घुम्टो नलगाइएको मुहारले प्रभुको महिमा प्रतिविम्बित गर्छौँ; अनि प्रभुबाट आएको बढिरहने महिमासित उहाँको स्वरूपमा परिवर्तन भइरहेका छौँ, जुन प्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ।

Ler em outra tradução

Comparar lado a lado