1 Timóteo 3

NPIONCB

1 यो वचन विश्‍वासयोग्य छ: यदि कसैले अध्यक्ष हुने इच्छा गर्छ भने उसले असल कामको इच्छा गर्छ।

2 अब अध्यक्षचाहिँ निर्दोष, एउटै पत्नीका पति, आत्मसंयमी, विवेकी, आदरणीय, पाहुनासत्कार गर्ने, सिकाउन सक्ने हुनुपर्छ।

3 मद्यपान नगर्ने, झगडालु होइन, तर भद्र, शान्तिप्रिय, धनसम्पत्तिको लोभ नगर्ने हुनुपर्छ।

4 तिनी आफ्नो परिवार राम्ररी चलाउन सक्ने, र आफ्ना बालबच्‍चाहरूलाई ससम्मान अधीनमा राख्न सक्ने हुनुपर्छ।

5 यदि कसैले आफ्नै परिवार सम्हाल्न सक्दैन भने तिनले परमेश्‍वरको मण्डलीको रेखदेख कसरी गर्न सक्ला र?

6 तिनी भर्खर विश्‍वासमा आएको व्यक्ति हुनुहुँदैन; नत्रता तिनी घमण्डले फुलेर शैतानले पाउने झैँ न्यायमा पर्नेछन्।

7 तिनले बाहिरकाहरूका बीचमा पनि असल नाम पाएको हुनुपर्छ, नत्रता तिनी निन्दित हुनेछन्, र शैतानको पासोमा पर्नेछन्।

8 यसै गरी सेवकहरू पनि आदर पाउन योग्यका, दुईजिब्रे नहुने, मद्यपान नगर्ने, र अनुचित लाभ नखोज्ने हुनुपर्छ।

9 तिनीहरूले विश्‍वासका गहिरा सत्यहरूलाई शुद्ध विवेकसित कायम राख्नैपर्छ।

10 पहिले तिनीहरूका जाँच हुनुपर्छ; यदि तिनीहरूका विरुद्धमा केही दोष पाइएन भने तिनीहरूले सेवक भएर सेवा गरून्।

11 त्यसै गरी तिनीहरूका पत्नीहरू पनि आदर पाउन योग्यका, अरूका कुरा नकाट्ने, तर संयमी र हरेक कुरामा विश्‍वासयोग्य हुनुपर्छ।

12 सेवक एउटै पत्नीका पति; आफ्ना बालबच्‍चाहरू र परिवारको उचित रेखदेख गर्न सक्ने हुनुपर्छ।

13 जस-जसले राम्ररी सेवा गरेका छन्, तिनीहरूले उत्तम प्रतिष्‍ठा र ख्रीष्‍ट येशूमा भएका तिनीहरूका विश्‍वासमा महान् निश्‍चयता पाउनेछन्।

14 म तिमीकहाँ चाँडै आउने आशा राख्दै यी उपदेशहरू तिमीलाई लेखिरहेछु।

15 यदि म आउन ढिलो भएँ भने तापनि परमेश्‍वरको परिवार, जुन सत्यको जग र खाँबो अर्थात् जिउँदो परमेश्‍वरको मण्डली हो; त्यसमा मानिसहरूले कसरी चल्नुपर्छ भनी तिमीले जान्‍न सक।

16 विनाशङ्का यो भन्‍न सकिन्छ, भक्तिको रहस्य महान् छ:

Ler em outra tradução

Comparar lado a lado