1 Reis 22

NPIONCB

1 तीन वर्षसम्म अराम र इस्राएलको बीचमा कुनै युद्ध भएन।

2 तर तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजा आहाबलाई भेट्न गए।

3 इस्राएलका राजाले आफ्ना अधिकारीहरूलाई भने, “रामोत-गिलाद हाम्रो हो; र पनि हामीले त्यसलाई अरामका राजाबाट फिर्ता लिन केही पनि गरेका छैनौँ भनी तपाईंहरूलाई थाहा छैन?”

4 यसकारण तिनले यहोशापातलाई सोधे, “के तपाईं हामीसित रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जानुहुन्छ?”

5 तर यहोशापातले इस्राएलका राजालाई यो पनि भने, “पहिले याहवेहसित सल्‍लाह माग्नुहोस्।”

6 यसकारण इस्राएलका राजाले चार सय जति अगमवक्ताहरू भेला गराएर तिनीहरूलाई सोधे, “म रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऊँ कि नजाऊँ?”

7 तर यहोशापातले सोधे, “यहाँ याहवेहका कुनै अगमवक्ता छैनन्, जसलाई हामीले यसको बारेमा सोध्न सकौँ?”

8 इस्राएलका राजाले यहोशापातलाई जवाफ दिए, “याहवेहसित सल्‍लाह लिन एक जना मानिस त छ, तर म उसलाई घृणा गर्छु; किनकि उसले मेरो विषयमा कहिल्यै पनि भलो अगमवाणी गर्दैन; सधैँ कुभलो मात्र गर्छ। ऊ यिम्‍लाको छोरा मीकाया हो।”

9 यसकारण इस्राएलका राजाले आफ्ना एक जना अधिकारीलाई बोलाएर भने, “झट्टै यिम्‍लाका छोरा मीकायालाई लिएर आऊ।”

10 आफ्ना राजकीय पोशाकहरू पहिरेर इस्राएलका राजा र यहूदाका राजा यहोशापात सामरियाको मूलढोकाको प्रवेशद्वार नजिकको खलामा आफ्ना सिंहासनहरूमा बसिरहेका थिए। सबै अगमवक्ताहरूले तिनीहरूका सामु अगमवाणी गरिरहेका थिए।

11 केनानका छोरा सिदकियाहले फलामका सिङहरू बनाएका थिए; अनि तिनले घोषणा गरे, “याहवेह यसो भन्‍नुहुन्छ: ‘यी सिङहरूद्वारा नै तिमीहरूले अरामीहरूलाई तिनीहरू नाश नभएसम्म हान्‍नेछौ।’ ”

12 अरू सबै अगमवक्ताहरूले पनि अगमवाणीद्वारा त्यही कुरा भनिरहेका थिए। तिनीहरूले भने, “रामोत-गिलादमाथि आक्रमण गरेर विजयी हुनुहोस्; किनकि याहवेहले त्यसलाई राजाको हातमा दिनुहुनेछ।”

13 मीकायालाई बोलाउन जाने समाचारवाहकले तिनलाई भने, “हेर्नुहोस्, अरू अगमवक्ताहरूले एकै मत भएर राजाको सफलताको पूर्व सूचना दिइरहेका छन्। तपाईं पनि तिनीहरूसितै सहमत भएर असल कुरा बोलिदिनुहोस्।”

14 तर मीकायाले भने, “निश्‍चय नै जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, म तिनलाई याहवेहले मलाई भन्‍नुभएको कुरा मात्र भन्‍नेछु।”

15 तिनीहरू आइपुगेपछि राजाले तिनलाई सोधे, “मीकाया, हामी रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऊँ कि नजाऊँ?”

16 राजाले तिनलाई भने, “मलाई सत्यबाहेक केही नभन्‍नू भनी म तिमीलाई कति पटक याहवेहको नाममा शपथ खान लाऊँ?”

17 तब मीकायाले जवाफ दिए, “मैले इस्राएललाई गोठाला नभएका भेडाहरूझैँ पहाडतिर छरिएको देखेँ, र याहवेहले भन्‍नुभयो, ‘यी मानिसहरूका मालिक छैनन्। प्रत्येक शान्तिसँग आ-आफ्नो घर फर्केर जाऊन्।’ ”

18 इस्राएलका राजाले यहोशापातलाई भने, “यसले मेरो विषयमा कुभलोबाहेक कहिले पनि असल अगमवाणी गर्दैन भनेर के मैले तपाईंलाई भनेको थिइनँ र?”

19 मीकायाले भन्दै गए, “यसकारण याहवेहको वचन सुन्‍नुहोस्: मैले याहवेहलाई सिंहासनमा बसिरहनुभएको देखेँ। उहाँका चारैतिर दाहिने र देब्रेपट्टि स्वर्गीय सेना उभिरहेका थिए।

20 तब याहवेहले भन्‍नुभयो, ‘कसले आहाबलाई रामोत-गिलादमाथि आक्रमण गरेर त्यहाँ मार्नलाई बहकाउनेछ?’

21 आखिरमा एउटा आत्माले अगि सरेर याहवेहको सामु उभिएर भन्यो, ‘म तिनलाई बहकाउनेछु।’

22 “याहवेहले सोध्नुभयो, ‘कुन तरिकाले?’

23 “यसरी अब याहवेहले तपाईंका यी सबै अगमवक्ताहरूका मुखमा एउटा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। याहवेहले तपाईंको निम्ति विपत्तिको फैसला गर्नुभएको छ।”

24 तब केनानका छोरा सिदकियाह उठेर गए, र मीकायाको अनुहारमा थप्पड लगाए। तिनले सोधे, “कहिले याहवेहको आत्मा मबाट निस्केर तिमीसित बोल्न जानुभयो?”

25 मीकायाले जवाफ दिए, “त्यो त तिमी भित्री कोठामा लुक्न गएको दिन थाहा पाउनेछौ।”

26 तब इस्राएलका राजाले हुकुम दिए, “मीकायालाई लिएर सहरका शासक अमोन र राजाको छोरा योआशकहाँ पठाइदिनू,

27 अनि भन्‍नू, ‘राजा यसो भन्‍नुहुन्छ: यसलाई झ्यालखानामा हालिदिनू, र म सुरक्षित नफर्केसम्म यसलाई रोटी र पानीबाहेक अरू केही नदिनू।’ ”

28 मीकायाले घोषणा गरे, “यदि तपाईं सुरक्षित फर्कनुभयो भने याहवेह मद्वारा बोल्नुभएको होइन।” त्यसपछि तिनले अझ थपे, “तिमीहरू सबैले मेरो कुरा याद राख्नू!”

29 यसकारण इस्राएलका राजा र यहूदाका राजा यहोशापात रामोत-गिलादमा गए।

30 इस्राएलका राजाले यहोशापातलाई भने, “म लडाईँमा भेष बदलेर प्रवेश गर्नेछु; तर तपाईंले चाहिँ आफ्नो राजकीय पोशाक पहिरनुहोस्।” यसकारण इस्राएलका राजाले आफ्नो भेष बदली गरेर लडाइँ गर्न हिँडे।

31 अब अरामका राजाले भने आफ्ना बत्तीस जना रथहरूका सेनापतिहरूलाई यस्तो हुकुम दिएका थिए, “इस्राएलका राजाबाहेक साना-ठूला कसैसित पनि लडाइँ नगर्नू।”

32 जब ती रथका सेनापतिहरूले यहोशापातलाई देखे, तब तिनीहरूले सोचे, “निश्‍चय उहाँ नै इस्राएलका राजा हुनुहुन्छ।” यसकारण तिनीहरू उनीमाथि आक्रमण गर्नलाई फर्के, तर जब यहोशापात कराए,

33 तब ती रथका सेनापतिहरूले तिनी इस्राएलका राजा होइन रहेछन् भनी देखे। अनि तिनीहरूले उनलाई पछ्याउन छोडे।

34 तर कसैले आफ्नो धनु झिकेर जथाभाबी हान्‍न थाल्यो, र त्यसले इस्राएलका राजालाई तिनको कवचको जोर्नीमा लाग्यो। राजाले आफ्नो सारथीलाई भने, “रथलाई फर्का, र मलाई युद्ध-भूमीबाट बाहिर लैजा। मलाई चोट लागेको छ।”

35 युद्ध दिनभरि नै चलिरह्‍यो र राजालाईचाहिँ आफ्नो रथमा अड्याएर अरामीहरूतिर फर्काइएको थियो। तिनको चोटबाट रथमा रगत बगिरहेको थियो; र त्यही बेलुकी तिनको मृत्यु भयो।

36 सूर्यास्त हुँदै गर्दा फौजभरि यस्तो उर्दी भयो, “प्रत्येक मानिस आ-आफ्ना सहरमा फर्क। हरेक आफ्नै ठाउँमा फर्क!”

37 यसरी राजाको मृत्यु भयो, र तिनी सामरियामा ल्याइए। अनि तिनीहरूले उनलाई त्यहाँ गाडे।

38 तिनीहरूले रथलाई सामरियाको एउटा तलाउमा धोए (जहाँ वेश्याहरू नुहाउने गर्थे) र याहवेहको वचनले घोषणा गरेझैँ कुकुरहरूले तिनको रगत चाटे।

39 आहाबका शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरू, तिनले हस्तीदन्तले बनाएका महल, अनि तिनले पर्खाल लगाएका सहरहरूको विषयमा चाहिँ इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

40 आहाब आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे। तिनका छोरा अहज्याह तिनीपछि राजा भए।

41 इस्राएलका राजा आहाबको चौथो वर्षमा आसाका छोरा यहोशापात यहूदाका राजा भए।

42 राजा हुँदा यहोशापात पैँतीस वर्षका थिए; र तिनले यरूशलेममा पच्‍चीस वर्ष राज्य गरे। तिनकी आमाको नाम अजूबा थियो, जो शिल्हीकी छोरी थिइन्।

43 प्रत्येक कुरामा तिनी आफ्ना पिता आसाका चालहरूमा हिँडिरहे, र तिनी तीबाट यताउता लागेनन्। तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। तैपनि देवस्थानहरू हटाइएनन्; र मानिसहरूले त्यहाँ निरन्तर बलिदानहरू चढाए र धूप बाले।

44 यहूदाका राजा यहोशापात इस्राएलका राजासँग मेलमिलाप राखे।

45 यहोशापातको शासनका अरू घटनाहरू, तिनले गरेका उपलब्धीहरू र तिनका फौजी वीरताको विषयमा ती यहूदाका राजाका पुस्तकहरूमा लेखिएका छैनन् र?

46 तिनले देशलाई बाँकी रहेका देवस्थानका देवदासहरूबाट मुक्त गरे, जुन तिनका पिता आसाको शासनकालपछि पनि रहेका थिए।

47 त्यस बेला एदोममा कुनै राजा थिएनन्; तर प्रान्तिय राज्यपालले शासन गर्थे।

48 ओपीरबाट सुन ल्याउन भनी यहोशापातले व्यापारी जहाजहरू बनाए। तर एस्योन-गेबेरमा ती जहाजहरू भत्किएका हुनाले तिनीहरू तर्शीशमा कहिल्यै पुगेनन्।

49 त्यस बेला आहाबका छोरा अहज्याहले यहोशापातलाई भने, “मेरा मानिसहरूलाई तपाईंका मानिसहरूसित जान दिनुहोस्,” तर यहोशापातले अस्वीकार गरे।

50 त्यसपछि यहोशापात आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूसितै आफ्ना पिता दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा यहोराम राजा भए।

51 आहाबका छोरा अहज्याह यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा सामरियामा इस्राएलका राजा भए। तिनले इस्राएलमाथि दुई वर्षसम्म राज्य गरे।

52 तिनले याहवेहको दृष्‍टिमा दुष्‍ट काम गरे। किनकि तिनी आफ्ना बुबाआमाका चालहरूमा र इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका चालहरूमा चले।

53 तिनले बालको सेवा गरेर त्यसलाई पूजा गरे, र आफ्ना पिताले गरेझैँ याहवेह इस्राएलका परमेश्‍वरलाई रिस उठाए।

Ler em outra tradução

Comparar lado a lado