Êxodo 17

NPI2010

1 सीनैको मरूभूमिबाट सबै इस्राएली दलसंगै यात्रा गरे। परमप्रभुको आज्ञा अनुसार तिनीहरू एक ठाउँदेखि अर्को ठाउँ यात्रा गरे। जब तिनीहरू रपीदीम पुगे त्यही छाउनी बनाए। त्यस ठाउँमा मानिसहरूको निम्ति पिउने पानी थिएन।

2 यसर्थ तिनीहरू मोशाको विरोधमा कुरा गर्न लागे अनि तिनीहरूले भने, “हामीलाई पिउने पानी देऊ।”

3 तर मानिसहरू पानीको निम्ति साह्रै तिर्खाएका थिए, यसर्थ तिनीहरूले लगातर मोशा विरूद्ध गन-गन गरिरहे। मानिसहरूले भने, “किन तिमीले हामीलाई मिश्र देशबाट बाहिरा ल्यायौ? के तिमीले हामी हाम्रा बाल-बच्चा तथा गाई-वतुहरू सबै पानी बिना मरून भनी लिएर आएका हौ?”

4 अनि मोशाले परमप्रभुलाई विन्ती गरे, “म यी मानिसहरूसित के गर्न सक्छु? तिनीहरू मलाई मार्न तैयार छन्।”

5 परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएली मानिसहरूअघि जाऊ र तिनीहरूबाट केही बूढाप्रधानहरूलाई तिमीसंगै लैजाऊ। र आफ्नो लहुरो पनि ल्याऊ। त्यो लहुरो त्यही हो जुन तिमीले नील नदीमा हिर्काउनमा प्रयोग गरेका थियौ।

6 म तिमीहरूको अघि होरेबमा सिनै पर्वतको चट्टानमाथि म हुनेछु। त्यो लहुरोले चट्टानलाई हिर्काउ अनि त्यो चट्टानबाट पानी निस्कनेछ, तब मानिसहरूले त्यो पानी पिउन सक्छन्।”

7 मोशाले त्यस ठाउँको नाउँ मरीबा र मस्सा राखे किनभने यो त्यही ठाउँ हो जहाँ इस्राएली मानिसहरूले उनको विरोद्धमा गए अनि परमप्रभुको परीक्षा लिएका थिए। मानिसहरू जान्न चाहन्थे, परमप्रभु तिनीहरूसित हुनुहुन्छ अथवा हुन्न।

8 रपीदीममा अमालेकी मानिसहरू आए अनि इस्राएली मानिसहरूसित लडाइँ गरे।

9 यसर्थ मोशाले यहोशूलाई भने, “केही मानिसहरूलाई छान र भोलि अमालेकीहरूसित युद्ध गर्न जाऊ। म पर्वतमाथि बसेर तिमीलाई हेर्नेछु। म त्यहाँ परमेश्वरको लहुरो पक्वी रहनेछु।”

10 यहोशूले मोशाको आज्ञा पालन गरे। अर्को दिन उनी अमालेकीहरूसित युद्ध गर्न गए। त्यही समय मोशा, हारून र हूर पर्वतको टाकुरामा गए।

11 केही समयमा जब मोशाले आफ्नो हात हावामामाथि उठाउँथे इस्राएलीहरूले युद्धमा जित्थे तर जब मोशा आफ्नो हात तल झार्थे अमालेकीहरूले जित्नु शुरू गर्थे।

12 केही समय पछि मोशाका पाखुरा थाके। मोशासित भएका मानिसहरूले बस्नको निम्ति एउटा ढुङ्गा ल्याए अनि हारून र हूरले मोशाको हात उठाएर राखे। मोशाको एकापट्टि हारून र अर्कोपट्टि हूर थिए। तिनीहरूले मोशाको हातहरू घाम नअस्ताउञ्जेलसम्म माथि उठाई राखे।

13 यसरी यहोशू र उसका मानिसहरूले अमालेकीहरूलाई यस युद्धमा परास्त गरे।

14 तब परमप्रभुले मोशालाई भन्नु भयो, “यस युद्ध बारे एउटा पुस्तकमा लेख अनि यहोशूलाई भन म अमालेकीहरूलाई सम्पूर्ण रूपले ध्वंश गरिदिनेछु।”

15 तब मोशाले त्यहाँ एउटा वेदी बनाए। उनले यसको नाउँ दिए, “परमप्रभु मेरो झण्डा हो।”

16 मोशाले भने, “मैले परमप्रभुको सिंहासनतिर हात बढाएको थिएँ। यसकारण परमप्रभुले अमालेकीहरूको विरोधमा लडाइँ गर्नु भयो उहाँ यो सधैं गर्नु हुन्छ।”

Ler em outra tradução

Comparar lado a lado