Gênesis 22

GL_NEPALI

1 ती कुराहरू भइसकेपछि परमेश्वरले अब्राहामको जाँच लिने निर्णय लिनु भयो। परमेश्वरले तिनलाई भन्नुभयो, “अब्राहाम!”अनि अब्राहामले भने, “हजुर!”

2 तब परमेश्वरले भन्नुभयो, “मोरीयाह भूमिमा तिम्रो छोरोलाई लैजाऊ। मोरीयामा मेरो निम्ति बलिदान स्वरूप तिम्रो छोरो बलि देऊ। तिम्रो छोरो चाँहि इसहाक हुनु पर्छ तिम्रो एउटा छोरा जुन छोरालाई तिमी बढी माया गर्छौ। त्यहाँको कुनै एउटा पर्वतमा तिम्रो छोरोलाई होमबलि चढाऊ। कुन चाँहि पर्वतमा बलिदान चढाउनु पर्छ त्यो म बताउनेछु।”

3 बिहान अब्राहाम उठे अनि गधामा लगाम कसे। अब्राहामले आफूसंग छोरो इसहाक र दुइ जना नोकरहरू पनि लगे। तिनले बलिको निम्ति दाउरा काटे अनि परमेश्वरले बताउनु भएको ठाउँमा गए।

4 तीन दिनसम्म यात्रा गरेपछि अब्राहामले माथितिर हेरे अनि तिनीहरू जानु पर्ने ठाउँ देखे।

5 त्यसपछि अब्राहामले कमाराहरूलाई भने, “गधासित यही पर्ख। म छोरोसित त्यस ठाउँमा जानेछु, अनि उपासना गर्नेछौ। अनि केही बेरपछि तिमीहरू भएको ठाउँमा हामी फर्कन्छौ।”

6 अब्राहामले होमबलिको निम्ति दाउरा उठाएर छोरोको काँधमा राखि दिए। तिनले एउटा विशेष काट्ने हतियार र आगो पनि लगे। त्यसपछि अब्राहाम र तिनको छोरो आराधना गरिने ठाउँमा गए।

7 इसहाकले आफ्नो पिता अब्राहामलाई सोध्‌यो, “बुबा!”अब्राहामले उत्तर दिए, “भन, छोरा।”इसहाकले भने, “म दाउरा र आगो देख्छु तर होम बलिको निम्ति दिनु पर्ने थुमाचाँहि कहाँ छ?”

8 अब्राहामले उत्तर दियो, “छोरो परमेश्वर आफैले बलिदानको निम्ति थुमा बन्दोबस्त गरिदिनु हुँदैछ।”यसरी अब्राहाम र तिनको छोरो इसहाकसँगै बलिदिने ठाउँमा पुगे।

9 तिनीहरू त्यही निर्दिष्ट जग्गामा पुगे जहाँ परमेश्वरले अह्राउनु भएको थियो। त्यहाँ अब्राहामले वेदी बनाए अनि त्यसपछि वेदी माथि दाउरा राखेर आफ्नो छोरोलाई बाँधी वेदीमाथि राखिएको दाउरामाथि राखे।

10 तब तिनले काट्ने हतियार लिएर इसहाकलाई मार्न तत्पर भए।

11 तर अब्राहामलाई परमप्रभुका स्वर्गदूतले बाधा दिए। र्स्वगबाट स्वर्गदूतले बोलाए अनि भने, “अब्राहाम!, अब्राहाम!!”अब्राहामले उत्तर दिए, “हजूर।”

12 स्वर्गदूतले भने, “तिम्रो छोरोलाई नमार। उसलाई कुनै प्रकारको चोट पनि नलागोस्। मैले साँच्चै नै थाहा पाएँ तिमीले परमेश्वरलाई सम्मान गर्छौ अनि उहाँको आज्ञा पालन गर्छौ। तिमीले आफ्नो एक मात्र छोरोलाई मेरो निम्ति मार्न तयार भएको पनि मैले देखें।”

13 तब अब्राहामले त्यहाँ एउटा थुमा देखे। त्यो भेडाको पाठाको सींङ पोथ्रामा अडकिएको थियो। यसर्थ अब्राहामले त्यो थुमालाई मारे अनि आफ्नो छोराको बलिको सट्टामा त्यसलाई परमेश्वरको बलिदानको रूपमा चढाए।

14 यसकारण अब्राहामले त्यस ठाउँको नाउँ, “यहोवा यिरे” राखे। आज पनि मानिसहरूले भन्छन, “यस पर्वतमाथि परमप्रभुलाई देखिन सकिन्छ।”

15 परमप्रभुका स्वर्गदूतले दोस्रो पल्ट अब्राहामलाई बोलाए।

16 ती स्वर्गदूतले भने, “तिमीले मेरो निम्ति आफ्नो छोरो मार्न तत्पर थियौ, यसर्थ तिमीले यस्तो गरेको हुनाले म यो प्रतिज्ञा गर्छु।

17 म तिमीलाई साँचो रूपले आशीर्वाद दिन्छु। म तिमीलाई आकाशका ताराहरू भन्दा धेरै सन्तान दिन्छु। तिम्रा मानिसहरू समुद्रको किनारमा भएको बालुवाको कणभन्दा पनि वेशी हुनेछन्। अनि ती तिम्रा मानिसहरू आफ्ना आफ्नो शत्रुहरूका शहरहरू जितेर बस्नेछन्।

18 अनि तिम्रा सन्तानहरूले संसारका सबै राष्ट्रहरूले आफ्ना निम्ति आशीर्वादको रूपमा पाउनेछन्। म यसै गर्नेछु किनभने तिमीले मेरा आज्ञाहरू मानेकाछौ।”

19 त्यसपछि अब्राहाम आफ्नो नोकरहरू भएको ठाउँमा गए। तिनीहरू सबै बर्शेबा फर्के अनि अब्राहाम त्यहाँ धेरै समयसम्म बसे।

20 तब अब्राहामले खबर पाए, “उनको भाइ नाहोर र उनकी स्वास्नी मिल्कासित पनि नानीहरू थिए।

21 तिनीहरूको जेठो छोराको नाउँ ऊज, माहिलो छोराको नाउँ बूज र साइलोको नाउँ कमूएल थियो। कमूएल आरामका पिता हुन्।

22 तब त्यहाँ केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल थिए।”

23 बतूएल रिबेकाको पिता थिए। मिल्काह यी आठजना छोराहरूकी आमा थिइन्, अनि नाहोर पिता थिए। नाहोर अब्राहामको भाइ थिए।

24 नाहोरको उसकी नोकर्नी रूमबाट पनि अन्य चार छोराहरू थिए, ती छोराहरू तेबह, गहम, तहस र माका थिए।

Ler em outra tradução

Comparar lado a lado